Breaking News.... EverestOnlineKhabar
April 19, 2026

शंकर भण्डारीको प्रस्ताव– राजसंस्थाको सान्दर्भिकता पुष्टि भएको छ, नत्र कांग्रेस र देशको भविष्य छैन

Loading

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले जेनजी आन्दोलनपछिको अवस्थामा पार्टीको नीति फेर्दै राजसंस्थासहितको त्रिपक्षीय समझदारीको प्रस्ताव अघि सारेका छन् ।

बुधवारको बैठकमा लिखित प्रस्ताव राख्दै भण्डारीले पूर्व उपसभापति तथा वरिष्ठ नेता गोपालमान श्रेष्ठले अघि सारेको प्रस्तावलाई पार्टीले अघि बढाउनुपर्ने बताएका हुन् । उनले गणतन्त्र,संघीयता र धर्मनिरपेक्षतालाई बोकेर अब देश र कांग्रेस टिक्न नसक्ने बताए ।

उनले भने, ‘पूर्व उपसभापति श्री गोपालमान श्रेष्ठले सार्वजनिक मिडियामार्फत् देशको गम्भीर अवस्थाको चित्रण गर्दै, ‘निषेधको राजनीति छोडेर देशको वर्तमान जटिल राजनीतिक अवस्थाबाट देशलाई निकास दिन नेपाली कांग्रेसले राजसंस्था, परम्परागत शक्ति, राजनीतिक दल, जेन–जी आन्दोलनकारी र फरक मत राख्ने सबै प्रकारका शक्तिलाई समेटेर सर्वपक्षीय राजनीतिक संवादको पहल गर्न’ दिनु भएको सुझावलाई नेपाली कांग्रेसको जारी कार्यसमिति वैठकले गम्भीरतापूर्वक ग्रहण लिन आवश्य छ ।

भण्डारीले पार्टी सभापति सहितको पार्टीका कयौं नेताको घर आगजनी र तोडफोड हुनुमा कांग्रेसको सत्तामोहले काम गरेको बताए । उनले भदौ २३ गते नै कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि दिएको समर्थन फिर्ता लिएको भए २४ गतेको विध्वंश रोकिन सक्ने अवस्था रहेको समेत दाबी गरे ।

भण्डारीले भने, नेपाली कांग्रेसले मात्र पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको भए ओली सरकार पतन हुने थियो र २४ भाद्रमा देशले त्यति ठूलो जन–धनको क्षति व्योहोर्न पर्ने थिएन । नेपाली कांग्रेस नेतृत्वमा व्याप्त चरम सत्ता मोह, अदूरदर्शिता र लापर्बाहीको कारणले पनि देशले त्यति ठूलो क्षति व्यहोर्नु पर्‍यो । यो राजनीतिक यथार्थलाई कांग्रेसले नछोपिकन स्वीकार गर्नै पर्छ, त्यसको समुचित समीक्षा र मूल्याङ्कन हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’

भण्डारीले पार्टीको ९४ प्रतिशत ओमकार परिवारका नागरिक बसोबास गर्ने देशको बहुमत जनताको भावनाविपरीत उभिएर नेपाली कांग्रेस कसरी लोकप्रिय राजनीति गर्न सक्छ ? भन्ने प्रश्न समेत उठाए ।

 

यस्तो छ भण्डारीले कांग्रेस बैठकमा राखेको विशेष प्रस्ताव

विशेष राजनीतिक प्रस्ताव

उपरोक्त राजनीतिक पृष्ठभूमिलाई ख्यालमा राखेर देशको जटिल र सङ्कटको अवस्थालाई मध्यनजर राख्दै नेपाली कांग्रेसले निम्न राजनीतिक प्रस्ताव एवम मुद्धाहरूमा गहिरो छलफल गरेर हिम्मतकासाथ निर्णय गरोस् भनि निम्न वमोजिमको विशेष राजनीतिक प्रस्ताव छलफलका लागि यो नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्दछु ।

(१) ‘नेपाली कांग्रेस, वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना महाअभियान’ को तर्फबाट बहुमत महासमिति सदस्यको हस्ताक्षर सहित मैले महासमिति वैठकमा टेवुल गरेको र महासमिति सदस्यहरूले खचाखच भरिएको वैठकले वैदिन सनातन हिन्दूराष्ट्रको प्रस्तावलाई कर्तलध्वनीका साथ अभुतपूर्व रूपमा अनुमोदन गरेको कुरा यहाँ सगौरव स्मरण गराउँदै, संविधानबाट धर्मनिरपेक्ष राष्ट्रको व्यवस्थालाई खारेज गरेर देशलाई धार्मिक स्वतन्त्रता सहितको वैदिन सनातन हिन्दूराष्ट्र नेपाल घोषणा गर्न नेपाली कांग्रेसले अग्रसरता लिनुपर्छ भन्ने माग गर्दै महासमित वैठकले अनुमोदन गरेको सो प्रस्तावलाई यो कार्यसमिति वैठकले पारित गरेर अगाडी बढ्न म यो वैठकमा जोडदारसंग यो प्रस्ताव पेश गर्दछु ।

(२) संवैधानिक राजसंस्था, र नेपाली कांग्रेसले नेतृत्व गरेको प्रजातान्त्रिक शक्ति बीच मेलमिलापबाट मात्र मुलुकको अस्तित्व, स्वतन्त्रता, राष्ट्रियता र प्रजातन्त्र जोगिन्छ भन्ने राष्ट्रिय एकता र मेलमिलाप नीतिको सान्दर्भिकता र व्यवहारिकता आज यो नीति घोषणाको आधा शताव्दी पछि सबभन्दा वढी स्थापित भएको छ । यसरी नै २०६५ जेष्ठ १५ गते संविधान सभाले असंवैधानिक एवम् अदूरदर्शी तरिकाले समाप्त गरिएको राजसंस्थाको सान्दर्भिकता सवभन्दा बढि स्थापित भएको छ । यो नेपाली मनमनमा लेखिएको र महत्वपूर्ण निर्णय प्रक्रियाबाट वाहिर राखिएको यो विषय सार्वभौम नेपालीको चाहना हो भन्ने यथार्थलाई राम्रोसंग मनन गरौं, पढौं, वुझौं र अगाडी बढौं भन्ने मेरो धारणा छ ।

वर्तमान अवस्थामा देशको राजनीति अत्यन्त तरल र जटिल अवस्थामा छ, नेपाली कांग्रेस एक्लैले यो जलिताबाट देशलाई पार लगाउन कठिन छ । देश बचाउन, प्रजातन्त्रलाई गति दिन र आर्थिक उन्नती र भौतिक विकाशको गतिलाई अगाडी बढाउन हामीले हाम्रा प्रातःस्मरणीय नेताहरू जननायक बीपी कोइराला, सुर्णण शम्शेर, सर्वोच्चनेता गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई आदिलाई स्मरण गर्दै हाम्रा फाउण्डिङ्ग प्रिन्सिपल र बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप नीतिको अधिनमा रहेर देशका सबै राजनीतिक दल, प्रजातान्त्रिक एवम् राष्ट्रीय शक्ति र पुरानो राजसंस्थालाई समेत एक ठाउँमा ल्याएर वृहत राजनीतिक सहमति निर्माण गरेर अगाडी बढ्न नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको यो वैठक विशेष निर्णय गरोस् भन्दै यो विशेष राजनीतिक प्रस्ताव केन्द्रीय कार्यसमिति वैठक समक्ष पेश गर्दछु ।

(३) नेपाली कांग्रेसको सबै तहको अवधी कार्यसमितिले थप नगरेको अवस्थामा आउँदो मंसीर महिनामा समाप्त हुँदैछ भन्ने कुरा हामी सबैलाई भलिभाँति थाह भएकै कुरा हो । तथापि आजका मितिसम्म हामीले क्रियाशील सदस्यको नविकरण र नयाँ सदस्य वितरण गर्ने कार्य सम्पन्न गर्न नसकेको यथार्थ पनि हामी बीच छर्लङ्ग नै छ । यसमा कुनै एक पक्षलाई दोष दिएर समस्याको समाधान हुन सक्दैन । देशको गंभीर राजनीतिक अवस्थालाई समेत मध्यनजर राख्दै यस विषयमा हामीले गंभीर भएर निर्णय गर्नु पर्ने अवस्था हामी बीच विद्यमान छ । देश जटिल अवस्थामा छ । सरकारले निर्वाचनको मिति तोकेर अगाडी बढेको छ तर पनि सरकारको गति, देशको जटिल राजनीतिक अवस्थालाई नियालेर हेर्दा अझै निर्वाचन भैहाल्छ भनेर ढुक्क हुने अवस्था छैन । तर पनि हामीले हाम्रा सम्पुर्ण राजनीतिक शक्ति र पाइला देशलाई राजनीतिक निकास दिन र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने तर्फ नै लक्षित हुनु पर्ने आवश्यकता छ ।

विगतमा पार्टी सरकारमा नै रहेको र देशको राजनीति सामान्य अवस्थामा रहेका वखत पनि हामीले विधानले तोकेको ४ वर्ष भित्र महाधिवेशन सम्मन्न गर्ने तर्फ हामी कहिल्यै गंभीर भएनौं भने अहिले त देश असामान्य स्थितिबाट गुज्रिरहेको हामीले भोगी, अनुभव गरिरहेका छौं । पार्टीको विधानको धारा ४३ वमोजिम सबै तहको कार्यकाल अर्को एक वर्ष थप्न सकिने वैधानिक प्रावधान हामीसंग छ भने देशको संविधानले कार्यकाल ५ वर्ष तोकिएता पनि ६ महिना थप्नकालागि वाधा हुने छैन भन्ने संवैधानिक व्यवस्था पनि गरेको छ । यो व्यवस्था बमोविम ८४ सालको जेष्ठ महिना भित्र महाधिवेश सम्पन्न गरेमा पार्टी कुनै वैधानिक सङ्कटमा पर्ने छैन भन्ने पनि प्रष्ट छ । यति स्मरण गराई रहनुको तात्पर्य ०८४ जेष्ठमा नै महाधिवेशन गरौं भनेर मैले भन्न खोजेको होइन । देशको जटिल राजनीतिक अवस्थालाई हेरेर गंभीर भएर महाधिवेशनको कार्य तालिका जारी गरौं है मात्र भन्ने खोजेको हो ।

अतहः पहिलो प्राथमिकता निर्वाचनलाई दिएर पार्टीको सम्पूर्ण ध्यान र शक्ति निर्वाचन तर्फ लगाउने गरी क्रियाशील सदस्यको टुङ्गो पौष महिना भित्र सकेर तोकिएको समयमा निर्वाचन भए आउँदो बैशाख र निर्वाचन हुन नसकेको अवस्थामा फाल्गुन महिना भित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने गरी कार्यक्रम वनाउन यो केन्द्रीय कार्यसमिति वैठक समक्ष यो विशेष प्रस्ताव पेश गर्दछु ।

— जय नेपाल !
१३ कार्तिक २०८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed