![]()
२३ असोज, काठमाडौं । जेनजी युवा विद्रोहको आज एक महिना पुरा भएको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोध र सुशासनको माग गर्दै युवाहरुले थालेको आन्दोलनले सत्ता ढालेको थियो ।
आन्दोलनको क्रममा ७४ जनाको ज्यान गएको छ भने सरकारी र निजी सम्पत्तिमा आगजनी हुँदा खर्बौंको क्षति पुगेको छ ।
सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, मन्त्री निवाससहित नेताहरुका घर र पार्टी कार्यालयमा आगजनी भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजुमाथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट समेत भएको थियो । असुरक्षा बढेको भन्दै नेपाली सेनाले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र प्रमुख दलका शीर्ष नेताहरुलाई हेलिकप्टरबाट उद्धार गरेको थियो ।
आन्दोलनको पहिलो दिन नयाँबानेश्वरस्थित संसद भवन अगाडि १९ जनाको ज्यान गएपछि भोलिपल्ट थप हिंसात्मक बनेको थियो ।
युवा आन्दोलन भदौ २४ गते उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि जेनजी युवा प्रतिनिधिहरुको समेत सिफारिसमा भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नियुक्त भएकी थिइन् । उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते आम निर्वाचन घोषणा गरेका छन् ।
दुई दिनमै राजनीतिमा उथलपुथल ल्याएको नेपालको जेनजी युवा आन्दोलन विश्वमै उदाहरणीय मानिन्छ । तर यसको नेता र गन्तव्य अझै अस्पष्ट छ । जेनजीका नाममा विभिन्न समूहहरु छन् । अन्तरिम सरकार गठनका बेला पनि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले अलग–अलग समूह र तिनका प्रतिनिधिहरुसँग छलफल गरेका थिए । विभिन्न थरी युवाहरुका विभिन्न मत हुँदा सैनिक मुख्यालय अगाडि झडपसमेत भयो ।
कतिपयले जेनजी आन्दोलनको नेता काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई ठाने पनि उनी खुलेर बाहिर आएका छैनन् । आन्दोलनको बेला बालेनलाई सडकमा आउन युवाहरुले आह्वान गरे पनि उनी आएनन् ।
बरु ‘हामी नेपाल’ नामको समूहको अगुवाइ गर्दै आएका सुदन गुरुङ एकाएक हाबी देखिए । उनको समेत रोजाइमा सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् । तर जेनजीका केही युवाहरु आन्दोलन हाइज्याक भएको र आफूहरुका एजेण्डा विपरीत राजनीतिक घटनाक्रम अघि बढेको बताउँछन् ।


