![]()
काठमाडौं,असाेज १४ । जेन-जी अभियन्ता मिराज ढुंगानाले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीसँग गरेको भेटमा आफूले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नका लागि सुझाव दिएको बताएका छन् । यो एजेन्डालाई आफूहरुले नछोड्ने र निरन्तर दवाव दिने उनको भनाइ छ ।
मिराजका अनुसार उनले गत शुक्रबार बालुवाटारमा प्रधानमन्त्री कार्कीलाई भेटेर जेनजीका एजेन्डाहरुबारे छलफल गरेका थिए । उक्त छलफलका क्रममा आफूले चारवटा विषयहरु राखेको उनले बताए । जसमध्ये पहिलो थियो, प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधान । उनले अहिलेकै अवस्थामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली ल्याउन मिल्छ कि मिल्दैन भनेर सोधेका थिए । यसमा कार्कीले ‘संविधानअनुसार जाँदा नमिल्ने’ जवाफ दिइन् ।
मिराज भन्छन्, ‘उहाँले त्यस्तो जवाफ दिएपछि मैले भनेँ– तपाईंको नियुक्ती पनि त संविधान अनुसार भएको होइन । उहाँले आवश्यकताको सिद्दान्तअनुसार आफू प्रधानमन्त्री बनेको बताउनुभयो । ठीकै छ । यसलाई के गरेर हुन्छ, कसो गरेर हुन्छ हामीले यसको लागि फाइट गर्छों । प्रत्यक्ष निर्वाचित आउनैपर्यो भन्ने मेन एजेन्डा हो । त्यसका लागि हामी के गर्नुपर्छ गर्छौं ।’
त्यसपछि उनले यो सरकारमा जेनजीको प्रतिनित्वको सम्भावनाबारे सोधेका थिए । कार्कीले यसमा सकारात्मक संकेत गरेको ढुंगानाले बताए ।
उनी भन्छन्, ‘मैले यो सरकारमा जेनजी को प्रतिनिधित्व हुन्छ कि हुँदैन भनेर सोधेँ । उहाँ पोजिटिभ नै देखिनुहुन्थ्यो । उहाँले मन्त्रीका लागि अझै ठाउँ खाली छ, तपाईंहरुले राम्रो डेलिभरी दिन सक्ने जेनजीको मान्छे अघि सार्नुभयो भने सोच्न सकिन्छ भन्नुभयो ।’
ढुंगानाले अघि सारेको तेस्रो एजेन्डा थियो भ्रष्टाचार नियन्त्रण सम्वन्धी । यो एजेन्डामा पनि सकारात्मक कुराकानी भएको उनले बताए ।
‘भ्रष्टाचार नियन्त्रणको विषयमा भइरहेको छ भनेर सोधेँ । उहाँले भन्नुभयो कि अहिले नै कति मानिसहरुको फाइल खुल्न थालिसक्यो । दशैंपछि काम हुन्छ र मुद्दा दर्ता गर्ने प्रक्रियामा जान्छ । अलि ढिला होला तर कानून टेकेरै जानुपर्ने हुन्छ, दशैंपछि फास्ट ट्र्याकमै जान्छ भन्नुभएको छ,’ उनले सुनाए ।
आफूले चुनाव तोकिएको समयमा हुन सक्ने सम्भावनाको बारेमा पनि सोधेको ढुंगाना बताउँछन् । प्रधानमन्त्रीले ६ महिनामा चुनाव गर्न सकिने भनेर आश्वस्त तुल्याएको उनको भनाइ छ ।
‘उहाँका अनुसार चुनावका लागि ९७ वटा सामान चाहिँदो रहेछ । त्यसमध्ये ८१ वटा अलरेडी छ, खासै समस्या हुँदैन भन्नुभयो । टाइमली चुनाव हुन्छ भन्ने उहाँको भनाइ थियो,’ ढुंगानाले भने ।
उनले उठाएको पाचौँ एजेन्डा थियो, विदेशमा रहेका नेपालीहरुको मताधिकारका विषयमा । यस विषयमा भएको कुराकानीबारे मिराजले यसरी सुनाएः
‘विदेशमा रहेका नेपालीले भोट गर्न पाउनुहुन्छ कि पाउनुहुन्न भन्ने पनि मेरो सरोकारको विषय थियो । देशमा बेरोजगारीले गर्दा विदेश जानु परेको हो । राज्यले उनीहरुको जिम्मेवारी लिनुपर्छ र मताधिकार दिनुपर्छ भनेर हामीले पहिलेदेखि कुरा राखेका छौं । प्रधानमन्त्रीज्यूले यस विषयमा पनि काम भइरहेको बताउनुभयो । केही देशसँग कम्युनिकेसन भइरहेको छ भन्नुभयो । कति देशमा पाईंदैन रहेछ, कतिमा स्वीकृति लिनुपर्ने रहेछ भोट गर्न । मैले फिजिकल्ली भोट गर्न नमिले अनलाइन सिस्टमबाट भए पनि छुटाउनु हुँदैन भनेको छु । यसका लागि प्लानहरु लिएर आउनु भन्नुभयो । दशैंपछि प्रधानमन्त्रीको कार्यालय खुल्ने वित्तिकै फेरि यो बारेमा कुरा गर्न जान्छु ।’



