![]()
काठमाडौं,असाेज१४- नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई गिफ्तार गर्न लागिएको भन्दै सरकारले मिडिया ट्रायल गरेको आरोप लगाएका छन्। दानवीय प्रवृत्तिहरूको विरुद्ध आफूले आवाज उठाएका कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्ने उनको दावी छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले आफ्नो ज्यानको अन्तिम सास रहुञ्जेल राष्ट्र र राष्ट्रियताको पक्षमा बोलिरहने बताएका छन् ।
उनले लेखेका छन्, ‘वर्तमान जेनजी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल चलाइरहेको देखिन्छ । कृपया यस्तो कुकर्म नगरेको राम्रो । राष्ट्रियता, लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोजिरहेका दानवीय प्रवृत्तिहरूको विरुद्ध मैले आवाज उठाएको कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्छ । तर यति मात्र भन्न चाहन्छु मैले देश र राष्ट्रियताको पक्षमासत्य बोलेको छु, र मेरो ज्यानको अन्तिम सास रहुन्जेल पनि त्यसै पक्षमा बोलिरहनेछु।’
छोटो समयका लागि जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाएमाले त्यसको सामना गर्न नेपाली युवा तयार रहेको उनले बताएका छन् ।
‘एमालेका अध्यक्षको बासस्थान व्यवस्थापन, सार्वजनिक वक्तव्य, भेटघाट कार्यक्रम, र सचिवालय बैठकको आयोजनामा मैले खेलेको भूमिकाप्रति यो असंवैधानिक सरकार थरथरी कामिरहेको छ । यो मेरो दायित्व हो । र कसैले ह्यारेसमेन्ट गरेर मलाई मेरो दायित्वबाट पन्छ्याउन सक्दैन,’ उनले भनेका छन् ।



