![]()

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको नाम जोडेर आएका खबरप्रति मन्त्रीको सचिवालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
श्रम मन्त्री कुँवर आपराधिक गतिविधिमा संलग्न व्यक्तिको जन्मदिन मनाउन पाँचतारे होटलमा गएको भनेर विभिन्न सञ्चारमाध्यममा आएको खबरप्रति सचिवालयले आज प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो।
मन्त्री कुँवरलाई एक ब्यक्तिसंग अनुचित ढंगले नाम जोडेर भइरहेका दुष्प्रचारप्रति सचिवालयको गम्भिर ध्यानाकर्षण भएको मन्त्रीका प्रेस संयोजक रमा खड्काले बताएकी छन् ।
श्रम मन्त्रीलाई एभरेस्ट स्प्रिङ वाटरको उद्घाटन कार्यक्रमका लागि निम्तो गरिएको र त्यहि दिन एभरेस्ट स्प्रिङ वाटरका सञ्चालक सुजन आचार्यको जन्मदिन पनि रहेको बारेमा पूर्वसूचना नभएको प्रेस संयोजक खड्काद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ।
उद्घाटन कार्यक्रममा सरिक भइसकेपछि सोही कम्पनीको सञ्चालक आर्चायको जन्मदिनको कार्यक्रमलाई अस्वीकार गर्ने स्थिति नहुँदा मन्त्री कुँवर त्यसमा औपचारिकताका लागि मात्रै सरिक भएको सचिवालयले प्रष्ट पारेको छ।
‘मा. मन्त्रीज्यू मिति २०७९ भाद्र १९ गते एभरेस्ट स्प्रिङ वाटर कम्पनीको निमन्त्रणामा दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा आयोजित एभरेस्ट स्प्रिङ वाटर कार्यक्रमको उद्घाटनका लागि जानु भएको हो। उक्त दिन एभरेस्ट स्प्रिङ वाटरका सञ्चालक सुजन आचार्यको जन्मदिन पनि रहेछ, जुन कुराको पूर्वसूचना थिएन । संस्थाको कार्यक्रममा सरिक भएपछि सोही संस्थाको सञ्चालकको जन्मदिनको कार्यक्रमलाई अस्वीकार गर्ने स्थिति नहुँदा मात्रै उहाँ त्यसमा औपचारिकताका लागि सरिक हुनुपरेको हो’, जारि विज्ञप्तीमा उल्लख छ ।
सोही विषयलाई लिएर केही सञ्चार माध्यामहरुमा मन्त्री कुँवर र उक्त कम्पनीका सञ्चालक आचार्यको नाम जोडेर प्रकाशित समाचारमा कुनै सत्यता नभएको सचिवालयले जनाएको छ । साथै कम्पनी संचालक आर्चायसंग मन्त्री कुँवरको कुनै पनि व्यक्तिगत सम्बन्ध र उहाँको विगतका क्रियाकलाप वा पृष्ठभूमि बारे समेत केही जानकारी नरहेको विज्ञप्तीमा भनिएको छ ।
सोहि उद्घाटन कार्यक्रमलाई लिएर विभिन्न सञ्चारमाध्यममा ‘हिरा लुटपाट र एक्सटोर्सनका आरोपी आर्चायको जन्मदिन पार्टीमा श्रम मन्त्री कुँवर अतिथि’ भन्दै खबर आएका थिए।
मन्त्रीको सचिवालयद्धारा जारि विज्ञप्ती



