Breaking News.... EverestOnlineKhabar
August 11, 2026

नेपाली नर्सहरु कमाउन बेलायत जाने बाटो खुल्यो, दुई देशबीच श्रम सम्झौता

Loading

काठमाडौं । नेपाल र बेलायतबीच जीटुजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको छ ।
आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दुई देशका पदाधिकारीबीच बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने गरी श्रम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । श्रम सम्झौताअनुसार छिट्टै परीक्षा दिएर नेपाली नर्सका साथै स्वास्थ्य क्षेत्रमा अरु कामदार पनि बेलायत पठाइने गरि सम्झौता भएको सचिव अर्यालले जानकारी दिए ।

नेपालबाट बेलायतमा काम गर्न जाने नर्सहरुले बेलायतको श्रम ऐनअनुसार सेवा सुविधा पाउने बेलायती राजदूत पोलिटले जानकारी दिइन्। सम्झौतापत्रमा उल्लेख भएअनुसार अब नेपालबाट नर्स मात्रै नभएर ल्याब असिस्टेन्ट, अनमी, बीएन नर्स, फार्मेसिस्टलगायत पनि बेलायत काम गर्न जान पाउनेछन ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंमा रहेको बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई स्वास्थ्य क्षेत्रमा श्रमिक बैलायत लैजाने मापदण्ड तय भएको सचिव अर्यालले बताए।

बेलायतका काम गर्न पहिलो चरणमा कम्तीमा १ हजार नर्स पठाउने गरी सम्झौता गरिएको श्रम मन्त्रालयले जनाएको छ। रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, बेलायतमा पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त रहेको सचिव अर्यालले बताए।

सम्झौताअनुसार कम्तीमा साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउँनेछन् । बेलायत जाने नर्सले वार्षिक ३६ हजार पाउन्ड स्टर्लिङ अथवा वार्षिक करिब ५५ लाख नेपाली रुपैयाँभन्दा बढी कमाउने अवसर पाउनेछन् । यो अवसर स्वास्थ्य क्षेत्रमा काम गरिरहेका नेपालीहरुका लागि निकै लाभदायक हुने अपेक्षा परिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed