![]()
२०७७ पुस २४, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ । धनगढीमा आज आयोजित नेकपा सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने चुनावमा गलत उम्मेदवारलाई नभई देश विकासमा लाग्नेलाई मत दिन आग्रह गर्नुभयो । प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर भन्नेहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्रीले भन्नु भयो, “६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले देश बर्बाद हुने महसुस गरी ताजा जनादेशमा जाने निर्णय गरेको हो ।” प्रधानमन्त्री ओलीले हड्पिएको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नक्शा छापिँदा केहीबाट देशमा कोकोहोलो र असहज स्थिति सिर्जना गरिएको बताउँदै भन्नुभयो, “बाहिर बाहिर राष्ट्रवादी देखिन,े भित्रभित्र नक्शा छाप्यो भनेर उखरमाउलो गरेर उठबस गर्नेहरु नक्कली राष्ट्रवादी र पदका लागि लड्ने हुन् । प्रधानमन्त्रीले कञ्चनपुरको दोधारा चाँदनीमा सिँचाइको व्यवस्थापन गर्न महाकाली नदीबाट दश क्युसेक पानी छाड्ने सहमति भारतसँग केही दिनअघि भएको जानकारी दिँदै परराष्ट्रमन्त्रीको आगामी दिनमा हुने भारत भ्रमणका क्रममा गौरीफन्टा नाकालाई व्यवस्थित बनाउने गरी मूर्त रुपमा कुरा गर्न लागिएको बताउनुभयो । प्रतिनिधिसभा विघटनपछि पहिलो पटक राजधानी बाहिर आयोजित पहिलो आमसभामा आज सहभागी हुँदै प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत् परियोजना स्वदेशकै वा अरु लगानी खोजेर भए पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


