![]()
२०७७ पुस २४, काठमाडौं । साझा प्रकाशनको सञ्चालक समितिका अध्यक्षमा डा विजय सुब्बा निर्वाचित हुनुभएको छ । साहित्यकार तथा निवर्तमान सांसद डा सुब्बा ४१२ मतसहित विजयी हुनुभएको हो । साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सुब्बाका प्रतिस्पर्धी डा जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गर्नुभयो। यही पुस २१ देखि २४ गते हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो । डा सुब्बा र डा कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुनुहुन्छ । भाषा–साहित्यका क्षेत्रमा ऐतिहासिक सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन भएकोे हो । विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्त गरिन्थ्यो । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।
नव निर्वाचित अध्यक्ष डा सुब्बाले साझा प्रकाशनलाई ब्युँताएर अगाडि बढाउने चुनौतीपूर्ण काममा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


