![]()
चीनमा कोरोना भाइरसका कारण निधन भएकाहरुको स्मृतिमा शनिबार राष्ट्रिय शोकको घोषणा गरिएको छ । कोरोना भाइरसका कारण ज्यान गुमाएकाको स्मृतिमा देशभर तीन मिनेट मौनधारण गरिएको छ । चीनमा कोरोना भाइरसका कारण ३३ सय भन्दा बढीको मृत्यु भएको छ । उनीहरुको स्मृति दिवस शनिबारका लागि तोकिएको हो । स्थानीय समय अनुसार शनिबार बिहान १० बजे (नेपाली समय अनुसार बिहान पौने ९ बजे) चीनभर सर्वसाधारणहरु उभिएर तीन मिनेट मौनधारण गरेका हुन् । यस्तै कार, रेल तथा पानीजहाजहरुले साइरन बजाए ।
यसैबीच, चीनका सिन्ह्वा, चाइना डेल्ली, ग्लोबल टाइम्स, पिपुललगायतका मूलधारका मिडियाले आफ्ना अनलाइन संस्करण अग्रभाग श्यामश्वेत बनाएका छन् । कोरोनाभाइरस महामारीसँग सिङ्गो विश्व आक्रान्त रहेका बेला महामारी सुरु भएको देश भने आफू यसबाट मुक्त भएको देखाउन प्रयासरत छ ।सङ्क्रमणको इपिसेन्टर मानिएको वुहान सहरमा जनजीवन सामान्य बन्दै गएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले कोरोना भाइरसका कारण ज्यान गुमाएको स्मृतिमा शोक मनाइरहँदा ऐक्यबद्धता प्रकट गरेका छन् । नोवेल कोरोना भाइरसको संक्रमण गएको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक पुष्टि भएको थियो ।


