![]()
काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। गरिमालाई न्याय दिलाउन तथा घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै नागरिक, महिला अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू प्रदर्शनमा उत्रिएका हुन्।
शुक्रबार ‘स्वतन्त्र आमा नेपाल’को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले गरिमा चौधरीको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गरेका थिए। प्रदर्शनकारीहरूले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै कडा कारबाहीको माग गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले ‘गरिमा चौधरीलाई न्याय दे’, ‘न्याय देऊ सरकार’ तथा ‘बलात्कारीलाई कडा कारबाही गर’ जस्ता नारासहित प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए। केही प्रदर्शनकारीले बलात्कार तथा हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने मागसमेत उठाएका छन्।
प्रदर्शनकारीहरूले गरिमाको परिवारलाई राहत वा क्षतिपूर्ति मात्र दिएर राज्यको दायित्व पूरा नहुने भन्दै निष्पक्ष अनुसन्धान र न्यायको सुनिश्चितता हुनुपर्ने बताएका छन्। साथै, बालबालिकामाथि हुने हिंसा रोक्न राज्यका निकायलाई थप जिम्मेवार र संवेदनशील बनाउनुपर्ने माग पनि उनीहरूको छ।
गरिमाको घटनालाई लिएर बाराको सिमरालगायत विभिन्न ठाउँमा समेत विरोध प्रदर्शन जारी रहेको छ। काठमाडौंमा माइतीघरबाट उठेको आवाजले घटनाको निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्याय दिलाउन सरकारमाथि थप दबाब सिर्जना गरेको छ।
प्रदर्शनकारीहरूको स्पष्ट सन्देश छ—गरिमाका लागि न्याय सुनिश्चित नभएसम्म आवाज उठिरहनेछ।


