![]()
२०७६ चैत ०७, काठमाडौँ– चलचित्र ‘ए मेरो हजूर ४’ को छायांकन रोकिएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणको लागि सरकारले २५ जना भन्दा बढी मानिस भेला नहुने निर्णय गरेको थियो । यही निर्णयको पालना गर्दै चलचित्र छायांकन स्थगित गरिएको निर्देशक, अभिनेत्री झरना थापाले जानकारी दिइन् । चलचित्र छायांकनको लागि झण्डै १०० जनाको समूह चाहिने भएकोले छायाँकन स्थगित गरिएको हो । हालसम्म चलचित्रको ४० प्रतिशत छायांकन सकिएको छ ।
यो टोलीले पोखरामा छायांकन सक्काएर अहिले ललितपुर आइपुगेको थियो । वैशाख १० सम्म चलचित्रको छायांकन सक्काउने लक्ष्य राखेको ४५ दिने सेड्यूल अब सरकारले अर्को निर्णय नगर्दासम्मको लागि सर्नेछ । चलचित्रका निर्माता सुनिल कुमार थापाले कोरोना संक्रमण जोखिम घटाउने उपाय सामाजिक दूरी पनि भएकोले चलचित्रको छायांकन स्थगित गरेको जानकारी गराएका छन् । उनले आवश्यक जैविक सुरक्षा र सामाजिक दूरीको पालना गरौँ भनेर जानकारी पनि दिएका छन् । फूलपातीमा प्रदर्शन हुने भनिएको थियो । यो चलचित्रमा अनमोल र सुहानाले दोस्रो पल्ट जोडी बाँध्दै थिए ।


