![]()
काठमाडौँ– यूट्युब लगायत सामाजिक सञ्जालहरुमा बिहीबार अपराह्नदेखि एउटा भिडियो भाइरल छ । जसमा एक जना प्रहरी निरिक्षक (इन्सपेक्टर) काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहेका देखिन्छन् । प्रहरीको निर्मम कुटाई खाने ती महिला हेमा श्रेष्ठ हुन्, जो आफै पनि पछिल्ला केही महिनायता सामाजिक सन्जालहरुमा भाइरल छिन् । श्रीमानले अन्याय गरेको, हेला गरेको भन्दै बच्चा काखमा च्यापेर प्रहरी कार्यलयमा देखिने गरेकी हेमालाई यूट्युबरले लगातार पछ्याइरहेका छन् । तर बिहीबारको यो घटनाको कथा भने बेग्लै छ ।
भैँसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको घरमा हेमासहितको महिला टोलीलाई नियन्त्रणमा लिनेक्रममा प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बच्चा च्यापिरहेकी हेमालाई लखेट्दै लाठी बजारेका थिए । भैँसेपाटी प्रहरी प्रभागका प्रमुख पौडेल आफै घटनास्थल पुगेर हल्ला गरिरहेका महिलामाथि हातपातमा उत्रिएका थिए । सामान्यतया महिलालाई नियन्त्रणमा लिन महिला प्रहरी नै परिचालन गर्नुपर्ने कानुनी व्यवस्था छ । ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले घटनाको छानबिन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको र प्रहरी निरीक्षक पौडेलसँग तत्काल स्पष्टीकरण सोध्ने निर्णय पनि भएको जानकारी दिए ।
‘स्थिति नियन्त्रणमा लिन हामीबाट अलिक बढी बल प्रयोग भएकै हो । मैले तीन सदस्यीय छानबिन समिति गठन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छु । प्रहरी निरीक्षक पौडेलसँग स्पष्टिकरण सोध्ने पनि काम हुन्छ । त्यसपछि आवश्यक कारबाहीका विषयमा अगाडि बढ्ने छौँ ‘, एसएसपी राईले भने । हेमासहित केही महिला र युट्युबरलाई लिएर आफूलाई पूर्व जर्नेल खत्रीकी प्रेमिका दावी गर्ने माला शाह बिहीबार भैसेपाटीस्थित खत्रीको घरमा पुगेकी थिइन् । त्यतिबेला खत्रीको घरमा उनकी छोरी मात्र रहेको प्रहरीले जनाएको छ ।
‘महिलाको हुल घरभित्र छिरेर तोडफोड गर्न थालेपछि हामीले उनीहरुलाई त्यहाँबाट हटाउन खोज्दा स्थिति त्यस्तो बनेको हो’, एसएसपी राईले भने । प्रहरीका अनुसार गत कात्तिक २७ गते भैँसेपाटीमा आफूलाई तीन जना महिलाले पिटेको भन्दै खत्री प्रहरीकहाँ उजुरी लिएर पुगेका थिए । उजुरी मालाविरुद्ध पनि थियो। कात्तिक २८ गते प्रहरी सम्पर्कमा आएकी मालाले आफू २२ वर्षदेखि खत्रीकी प्रेमिका रहेको र डेरा लिएरै राखेको तर पछिल्लो समय आफूलाई छाडेर हिँडेको बताएकी थिइन् ।
‘उहाँ असोज १५ गते भारत जान्छु भन्दै निस्कनुभएको थियो। तर त्यसपछि हराउनु भयो। उहाँलाई खोज्ने क्रममा भैँसेपाटीमा भेटेकी हुँ। खत्री र मबीच नाता कायम होस्’, त्यतिबेला प्रहरीकहाँ मालाको आग्रह उदृत गर्दै एसएसपी राईले भने । त्यसपछि यी दुईबीचको विवाद लगातार प्रहरीमा आइरह्यो । ‘यसभन्दा अगाडि पनि ७–८ पटक मालासहितको महिलाको समूहले खत्रीको घर अगाडि गएर हुलहुज्जत गर्ने, धर्ना दिनेजस्ता गतिविधि गरेको पाइएको थियो । हामीले उहाँलाई पटक–पटक नियन्त्रणमा लिएर छाडेका पनि थियौँ’, राईले भने ।


