![]()
सिरियाले गरेको हवाई हमलामा टर्कीका २९ जना सैनिकको मृत्यु भएको छ । उत्तर पश्चिम सिरियास्थित इदलिबमा आफ्नो भूमी कब्जा गरेर बसेका टर्कीका सैनिकमाथि सिरियाली हवाई सेनाले आकाशबाट बम बर्साएको हो । टर्कीको हायात प्रान्तका गभर्नर रहमी डोगनले पछिल्लो हवाई हमलाका कारण इदलिबमा कैयौं मानिसहरु घाइते भएको बताएका छन् । बेलायतस्थित ’सीरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ का अनुसार बिहीबार बेलुकी गरिएको हवाई हमलामा परी टर्कीका ३४ सैनिकको ज्यान गएको छ । सिरियाले आफ्ना सैनिकहरुको हताहति हुनेगरी हवाई हमला गरेपछि टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोनानले उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन्, जहाँ सिरियाली हवाई हमलाको जवाफ दिने निर्णय भएको छ ।
इदलिब अहिले विद्रोहीहरुको बब्जामा छ । रुसको समर्थनप्राप्त सिरियाली सेनाले सो क्षेत्रलाई विद्रोहीहरुको कब्जाबाट मुक्त पार्न चाहिरहेको छ । तर विद्रोहीहरुलाई भने टर्कीका सेनाले सर्मथन गरिरहेको छ । टर्कीका राष्ट्रपति रेचेपले सिरियाली सेनालाई आफ्ना सेना रहेको भूभागभन्दा पर रहन, अन्यथा सिरियाली सेना अघि बढेको अवस्थामा उचित कदम उठाउने चेतावनी दिइरहेका छन् । सिरियाली सेना र रुसले सन् २०१८ मा भएको युद्धविराम कार्यान्वयन गर्न अस्वीकार गरिरहेका छन् । ’सीजफायर लाइन’भन्दा पछि हट्न इन्कार गर्दै सिरिया र रुसले विद्रोहीहरुलाई समर्थन गरेर टर्कीले सम्झौताको उल्लंघन गरिरहेको बताएका छन् ।


