![]()
२०७६ फागुन ०५, काठमाडौं । वागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो पारिश्रमिक तथा भत्ताको वार्षिक खर्च विवरण सार्वजनिक गरेका छन् । उनले प्रदेशसभा सदस्य भए बापत मासिक ४५ हजार रुपैयाँ र घर भाडाबापत मासिक १५ हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् । उनले मासिक ६० हजार रुपैयाँ बुझ्ने गरेका छन् । उनले अघिल्लो बर्षसमेत आफ्नो पारिश्रमिकको वार्षिक खर्च विवरण यसरी नै सार्वजनिक गरेका थिए ।
उनले भने, जो मान्छेले गलत काम गर्छ, त्यसलाई मात्र डर हुन्छ मैले केही गल्ती गरेकै छैन भने मलाई के को डर ।’ यसरी आफ्नो पारिश्रमिक सार्वजनिक गर्दा तपाईंलाई अफ्ठेरो पर्दैन भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘मैंले अघिल्लो बर्ष पनि पारिश्रमिक यसरी सार्वजनिक गर्दा धेरै प्रदेश सांसदहरुले बिरोध गर्नुभयो । तर मलाई स्याबासी दिनेहरु बिरोध गर्नेभन्दा बढी थिए, त्यहीँ स्याबासीलाई सम्झेर सामाजिक काममा जुट्न मलाई प्रेरणा मिलेको छ । जस्तो परिस्थितिमा पनि म जनताको पक्षमानै उभिएको हुन्छु । हैन भने मेरो क्षेत्रमा गएर बुझ्नुहोस, तपाईंले आफैं थाहा पाउनुहुनेछ ।’
सांसद श्रेष्ठको तलव–भत्ताबापतको वार्षिक रकम ७ लाख २० हजार रुपैयाँ हुने भएपनि उनले ८ लाख २३ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन् । एक लाखभन्दा बढी रकम ऋण लिएर भए पनि सहयोग गरेको उनले बताए । उनका खर्चमा आर्थिक सहयोग बढी देखिएको छ । त्यस्तै देउसी भैलो, पार्टीका तीन तहमा प्रत्येक महिना बुझाइने लेबी रकम, चियापान कार्यक्रम, बिभिन्न संघ संस्थालाई आर्थिक सहयोग लगायतका छन् ।
काठमाडौँबाट प्रतिनिधित्व गर्दै आएका सांसद श्रेष्ठको घर काठमाडौंको बानेश्वरमा छ । उनी भन्छन् ,‘काठमाडौंमा घर छ, खान र बस्न समस्या छैन, श्रीमति प्राध्यापक छिन, उनकै खर्चले छोरा पढाउन पुग्छ । यति भएपछि पैसाभन्दा पनि म नाममा विश्वास गर्ने मान्छे हो, त्यसैले समाजसेवानै मरो पहिलो कर्म ठानेको छु ।’
उनी बाग्मती सरसफाई अभियानमा सकृय रुपमा लागेका छन् भने उनकै अगुवाईमा काठमाडौंको बाग्मतीमा रहेको युएन पार्कको सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगिएको थियो । बाग्मती प्रदेश सभाका सांसद दिपेन्द्र श्रेष्ठ काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ (क)बाट नेपाली काँग्रेसका निर्वाचित सांसद हुन् । उनी बाम गठबन्धनभन्दा १६ सय ५० मत बढी ल्याएर विजयी भएका थिए ।



