![]()
२०७६ माघ १५, काठमाडौं । चर्चित हास्यकलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ छोराको पिता बनेका छन् । बुधवार विहान उनलाई पुत्र लाभ भएको हो । आज विल्सनको जन्मदिन समेत हो । सन् १९८७ जनवरी २९ तारिखमा जन्मिएकाले उनले आफ्नो जन्मदिनको दिन उपहार स्वरुप छोरा पाएकोमा खुसी व्यक्त गरे । विल्सनले गत वर्षको फागुनमा झापाकी सरिना लामासँग मागी विवाह गरेका थिए । बुधवार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा छोरा बोकेको दुईवटा तस्विर राखेर कलाकार विल्सनले आफ्नो जन्मदिनको सबैभन्दा मुल्यवान उपहार रहेको भन्दै खुसी साटेका छन् ।
उनले खुसी हुँदै लेखेका छन्, ‘जीवनको नयाँ चक्र सुरु भएको छ । दुनियाँमा तिमीलाई स्वागत छ मेरो सानो परी बेबी हिरो ।’ छोरालाई हातमा बोकेका विल्सन निकै खुसी मुद्रामा देखिएका छन् । बुधवारबाट ३४औं वर्षमा लागेका विल्सनले सरिनासँग विवाह गरेको ७ महिनापछि विवाहको जानकारी दिएका थिए । उनीहरु स्कुल जीवनदेखि नै एकअर्कासँग नजिक थिए । विल्सनका लागि जन्मदिन अझ खास बन्दैछ । बुधवार दिउँसो उनी अभिनीत नयाँ फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर पनि सार्वजनिक हुँदैछ । यसकारण पनि उनका लागि ३४औं जन्मदिन विशेष बनेको छ ।


