Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ १२, कञ्चनपुर । भीमदत्त नगरपालिका–१३ भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कलभर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ । वडा कार्यालयले रु सात लाख खर्चेर कलभर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो । “नालामा कलभर्ट निर्माण नहुँदा एम्बुलेन्स, दमकललगायत साधन बस्तीसम्म र्पुयाउन सम्भव थिएन”, वडाध्यक्ष लालबहादुर शाहीले भने, ‘कलभर्ट बनेपछि सवारीसाधन सहज रुपमा बस्तीमा पुग्न थालेका छन् ।”

“नालामा कलभर्ट नहुँदा तीन किलोमिटरको घुमाउरो बाटो भएर जान एक घण्टा लाग्थ्यो”, स्थानीयवासी रमेश पन्तले भने, “अब त्यो बाटो दुई मिनेटमै पूरा गर्न सकिने भएको छ, नालामा कलभर्ट निर्माण पूरा नहुँदा बस्तीका कोही बिरामी परेमा नालाको कम्मरसम्मको पानी तरेर पार गर्नु पर्दथ्यो ।” नालामा कलभर्टसँगै तटबन्धसमेत निर्माण गरिएकाले नालाको नजीकैको बस्तीमा बर्सातको पानीसमेत छिर्दैन । नालाको पानी स्थानीय बासिन्दाको खेतमा छिर्दा बालुवाले पुर्ने समस्या थियो ।

नालामा कलभर्ट निर्माणको कार्य १३ वर्षअघि शुरु गरिएको थियो । धेरै पटक नगरपालिकादेखि विभिन्न निकायमा कलभर्ट निर्माण पूरा गरिदिन गाउँका बासिन्दा पुगे पनि बन्न सकेको थिएन । कलभर्ट निर्माण नहुँदा रु २५ हजार प्रतिकट्ठा जग्गामा बिक्री नहुने गरेको जग्गाको भाउसमेत बढेको छ । प्रतिकट्ठा जग्गाको मूल्य हाल रु सात लाखभन्दा बढी पुगेको स्थानीयवासीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed