Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ माघ ०७, सुर्खेत । चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि सो आयोजना अगाडि बढ्न नसकेको हो । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले इजाजत लिएको थियो । गुटुदेखि चौकुने डाँडासम्म सडक निर्माण गरी कम्पनीले ०७३ पुस २८ गते नमूनाका रुपमा चुनढुङ्गा उत्खनन समेत शुरुआत गरेको थियो ।

पछिल्लो समय कम्पनीले काम अघि नबढाइ पटक–पटक म्याद मात्र थप्दै आएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । कम्पनीले यसअघि सशस्त्र द्वन्द्वलगायत विभिन्न समस्या देखाउँदै उद्योग सञ्चालनमा बेवास्ता गर्दै आएको थियो । खानी क्षेत्र चौकुने गाउँपालिकाअन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार ३८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । खानी विभागले ०३५ देखि २०३९ सालसम्म यहाँको चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । कारखानाका सञ्चालन लागि करिब रु आठ अर्ब लागत लाग्ने अनुमान छ ।

कम्पनीले एक हजार ५०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । निर्माण शुरु भएमा लागत, उत्पादन र क्षेत्रफलका हिसाबले चौकुनेलाई मुलुककै ठूलो सिमेन्ट कारखानाको रुपमा दाबी गरिएको छ । कम्पनीले पछिल्लो समय विद्युत्को समस्या देखाउँदै आयोजना सञ्चालन गर्न नसकेको जनाएको छ । सिमेन्ट कारखाना सञ्चालन गर्न करिब १४ मेगावाट विद्युत् आवश्यक पर्ने जनाइएको छ । सम्झौतामा आयोजनाका लागि आवश्यक शान्ति सुरक्षा, खानी क्षेत्रसम्म विद्युत् सरकारले उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

चुनढुङ्गा उत्खनन कार्य शुरु नहुँदा त्यस क्षेत्रका बासिन्दा कम्पनीले ‘खानी होल्ड’ गरेको आरोप लगाउँछन् । चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले कम्पनीकै आग्रहले जग्गा खरिद–बिक्री रोकेको बताउँछन् । अधिग्रहण हुने भएपछि जग्गा किनबेच रोकेका छौँ ,कारखाना सञ्चालन होला भन्ने आशा मरिसकेको उनले बताए । विभिन्न कारण देखाउँदै कम्पनीले सिङ्गो खानी क्षेत्र कब्जा गरेको जनाइएको छ । उनले भने, “आयोजना सञ्चालन गर्नमा स्थानीयवासीको पूर्ण समर्थन छ । वर्षौंदेखि अनुमतिपत्र होल्ड गर्ने तर काम अघि नबाउँदा अन्यौलता बढेपछि कामै अघि बढ्ला भन्ने आशा मरिसक्यौँ ।”

भदौदेखि काम अघि बढाइने

विसं ०७७ भदौदेखि लान्ट स्थापना गरेर काम अघि बढाइने कम्पनीका परियोजना संयोजक लोकबहादुर अधिकारीले जानकारी दिए । उनले ‘खानी होल्ड’ मै राख्ने कुनै मनसाय नभएको जनाउँदै खानीसम्मै पहुँच मार्ग बनिसकेकाले बाँकी काम दु्रत गतिमा अघि बढाउने बताए । झण्डै १२ किलोमिटर सडकको काम सम्पन्न भए पनि गुटुसम्म विद्युत् विस्तार नहुँदा बाँकी काम रोकिएको संयोजक अधिकारीले बताए ।

“सरकार र स्थानीयवासीले काम गरेनन् भन्ने आरोप लागेकाले चालु आर्थिक वर्षमा प्लान्ट राख्न जग्गा अधिकरणको काम सम्पन्न गर्दैछौँ”, उनले भने, “यहीँ वर्ष प्लान्टको काम र कारखानाको सामग्री खरिद गर्ने प्रक्रिया शुरु गर्छौं ।” प्रदेश सरकारले यथाशीघ्र चाँडो विद्युत् विस्तार गर्ने आश्वासन दिएकाले कम्पनीले पहिलो चरणका काम अघि बढाउने तयारी समेत गरेको जनाइएको छ । चौकुनेबाट उत्पादित सिमेन्ट घाटगाउँ हुँदै कर्णाली चिसापानी भएर बाहिर पठाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed