Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ माघ ०७, पाल्पा । व्यावसायिक सुन्तला खेती यहाँका स्थानीयवासीको जीवनशैलीमा परिर्वतन ल्याउन सफल बनेको छ । यहाँका ३० घरपरिवारले व्यावसायिकरुपमा सुन्तला खेती गरेर मनग्गे आम्दानी गरेसँगै उनीहरुको जीवनशैलीमा ठूलो परिर्वतन देखिएको हो । अहिले यहाँका स्थानीयवासी पैसा कमाउन वैदेशिक रोजगारीमा जान छाडेका छन् । परम्परागत अन्नबालीप्रति विकर्षण हुँदै व्यावसायिक फलफूल खेतीप्रति आकर्षित हुँदै गएका हुन् । पहिला गाउँका अधिकांश मानिस वैदेशिक रोजगारमा रहे पनि अहिले अधिकांश घर फर्किएर सुन्तला खेतीमा रमाएका छन् ।

पैसा देख्न पनि मुस्किल हुने उनीहरुलाई अब घरखर्च, छोराछोरीको पठनपाठन र अन्य कामको लागि कसैसँग ऋण गर्नुपर्ने बाध्यता छैन । सुन्तला खेतीकै आम्दानीबाट उनीहरुले आफ्ना सन्तानलाई उच्च शिक्षाका लागि देश, विदेश पठाउन सक्षम बनेका छन् । रैनादेवी छहरा गाउँपालिका–४, अम्लाबाँसको बाहुनडाँडामा अहिले ३० घरपरिवारको बस्ती छ । बस्तीका सबै घरपरिवारका सुन्तला बगैँचा भिन्नाभिन्नै स्थानमा छन् । अम्लाबाँसले सुन्तलाको पकेट क्षेत्रको रुपमा परिचित बनेको छ ।

पहिले आफूले खानका लागि एक÷दुई बोट लगाएका उनीहरुले व्यावसायिक रुपमा सुन्तला खेतीलाई अगाडि बढाएका छन् । यस गाउँबाट वर्षमा झण्डै रु दुई करोड बराबरको सुन्तला जिल्ला बाहिर बिक्री हुने गर्दछ । बगैँचाबाट नै प्रतिकिलो ७० देखि ७५ मा सुन्तलाको कारोवार हुँदा किसान खुशी छन् । अहिले यहाँका १२र१३ घरपरिवारले सुन्तलाबाट रु १४र१५ लाख वार्षिक आम्दानी गर्न सफल बनेको स्थानीयवासी गीता भट्टराईले बताइन् । सामान्य परिवारले पनि रु तीनदेखि चार लाख आम्दानी गर्न सफल बनेका छन् । सुन्तलाको आम्दानीले वर्षभरिका लागि खाना, कपडा, औषधोपचारको खर्च गर्न र केही रकम बचत गर्न सफल भएको उनको भनाइ छ ।

स्थानीयवासी हुमनाथ कँडेल पनि १८र२० वर्षदेखि सुन्तला खेतीमै होमिएका छन् । पुशपालन तथा परम्परागत कृषि पेशाबाट विस्थापित हुँदै सुन्तला, कागती र जुनार खेतीतर्फ लाग्नु भएका उहाँ भविष्यमा पनि यसैलाई निरन्तरता दिने बताउँछन् । कँडेलले सुन्तलाबाट मात्र वार्षिक रु छ लाखभन्दा बढी आम्दानी हुने गरेको बताए । सुन्तला किसान यमलाल कोइरालाले ४० वर्षअघि व्यावसायिक रुपमा सुन्तला खेतीको नेतृत्व गरेका थिए । व्यावसायिक सुन्तला खेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि सिङ्गो बस्ती नै यस व्यवसायप्रति आकर्षित हुँदा ८० वर्षीय कोइराला खुशी रहेका छन् । स्थानीयवासी टीकाराम पोखरेलले भने, ‘हामीसँग प्राविधिक ज्ञानको अभावमा रोगको पहिचान गर्न नसक्दा समस्या भएकै छ, त्यसकारण हामीले सोचेजस्तो आम्दानी हुन सकेको छैन ।’

स्थानीयवासीले सुन्तला बगान बनाउने योजनाका साथ काम गर्न थालेपछि अहिले सबैको आम्दानीको मुख्य स्रोत बनेको छ । मकै खेती गर्न छाडेर सुन्तला खेतीले गाउँलाई नै लखपति बनाएको छ । यहाँ उत्पादित सुन्तला रुपन्देही जिल्लाको बुटवल, भैरहवा, चितवन, नवलपरासी र कपिलवस्तुलगायतका क्षेत्रमा खपत हुँदै आएको छ । अर्का सुन्तला किसान कमल घिमिरेले यो वर्ष झण्डै रु १५ लाखको सुन्तला बेचेको बताए । कम मिहिनेत र कम लगानीमा सुन्तला खेती हुने भएपछि परम्परागत अन्नबाली खेती गर्न छाडेर सुन्तला खेतीप्रति आफूहरु आकर्षित भएको उनको भनाइ छ । सुन्तला पकेट क्षेत्रका रुपमा परिचित यस क्षेत्रका वासिन्दा सरकारी अनुदानका कार्यक्रमबाट भने वञ्चित छन् । सङ्घीय, प्रदेश र गाउँपालिकाबाट सहयोग पाउन नसक्दा किसान चिन्तित छन् ।

सुन्तलालाई वर्षमा एकपटक हागा काँटछाँट, मल हाल्नुपर्ने, औषधि प्रयोग गर्नुपर्ने हुन्छ । सुन्तला बगँैचामा व्यावसायिक तरकारी खेतीबाट यहाँका किसानले प्रशस्त आम्दानी गर्न सफल बनेका छन् । जिल्लामा ८५३ हेक्टरमा सुन्तला खेती हुन्छ । जिल्लामा पाँच हजार ६६० टन सुन्तला उत्पादन हुँदै आएको छ ।

जिल्लामा गत आवमा मात्र रु ११ करोडभन्दा बढी आम्दानी सुन्तला बिक्रीबाट भएको छ । हिमालतर्फ फर्किएको जमिनमा व्यावसायिक रुपमा सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सोमादी, भुुवनपोखरी, मुझुग, छहरामा राम्रो सुन्तला उत्पादन हुन्छ । यस क्षेत्रका किसानले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्छन् । जिल्लाकै रिब्दीकोट गाउँपालिकाको पालुमैनादी, कुसुमखोला, भैरवस्थान, खस्यौली, बगनासकाली गाउँपालिकामा व्यावसायिक रुपमा सुन्तला खेतीप्रति युवापुस्ता आकर्षित बनेका छन् । यसले विदेश जाने युवालाई गाउँमै कृषि पेशामा लागेर स्वरोजगार बन्ने अवसर दिनुको साथै राम्रो आर्थिक उपार्जन गरी जीवनस्तरमा सुधार ल्याउन सहयोग पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed