![]()
२०७६ पुस २१, काभ्रे– गाउँमै सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि काभ्रेको नाग्रेगगर्चेका किसानको आम्दानी वृद्धि भएको छ । करेसाबारीमा उत्पादन भएको साग बेचेर नानीमाया लामाले रु आठ हजार आम्दानी गरिन् । करिब ४०० किलोभन्दा बढी साग बेचेर रु आठ हजारभन्दा बढी आम्दानी गरेको उनले जानकारी दिइन् । उनले मात्रै होइन, अहिले सो गाउँका सबै किसानले घर वरिपरिको करेसाबारी र खेत बारीमा साग रोपेर आम्दनी गर्न थालेका छन् ।
खेर जाने गरेको साग बेचेर पैसा आउने भएपछि गाउँले सबै साग खेतीतर्फ आकर्षित भएको स्थानीय बासिन्दा राजीव लामाले बताए । उनका अनुसार अहिले त्यहाँका गाउँलेले प्रतिघर परिवारले कम्तीमा तीनरचार सय किलो साग बेच्ने गरेको छन् । जिल्लाको कोसीपारिस्थित चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा रहेको सिर्जनशील कृषि सहकारी संस्थाले आम्दानीमा वृद्धि र शेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग र्पुयाउने ध्ययले सागबाट गुन्द्रुक बनाई बिक्री गर्न शुरुआत गरेको हो ।
साग सङ्कलन गरी गुन्द्रुक बनाउने कामलाई तीव्रता दिएको संस्थाका अध्यक्ष ननिता लामाले जानकारी दिनुभयो । संस्थाले गाउँमा तरकारी सङ्कलन केन्द्र स्थापना गरी दैनिकरुपमा साग सङ्कलन गरेको छ । सस्थाले सागको प्रतिकिलो रु २० को दरले खरिद गर्ने गरेको छ । १३० जना शेयर सदस्य आबद्ध रहेको संस्थाले छोटो समयमा नै दश लाख पूँजी जम्मा गरिसकेको छ । शेयर सदस्यले उत्पादन गरेको तरकारीलाई सङ्कलन गरी खरिद गर्न थालेसँगै गाउँमा सागखेती गर्नेको सङ्ख्या बढ्न थालेको छ ।
स्थानीय शशी तामाङले काठमाडौँमा होटलका लागि रु एक लाखको गुद्रुक माग गरेपछि गुन्द्रुक बनाउने काम अहिले धमाधम जारी रहेको छ । अध्यक्ष लामाका अनुसार सागको गुन्द्रुकसँगै फर्सी, स्कुस र मुलाको सुकुटी बनाउने तयारी अगाडि बढेको छ । उत्पादन सबै खरिद गर्ने सम्झौता भइसकेकाले कुनै समस्या नरहेको संस्थाले जनाएको छ । यससँगै सहकारीले संस्थामा आबद्ध किसानका लागि आवश्यक मल, बीउ सुपथ मूल्यमा बिक्री गर्ने र बचत तथा ऋणलाई पनि सँगसँगै लाने गरी कयौँ योजना अघि सारेको जनाएको छ ।


