Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस २१, बाँके । नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरेर बाँके राष्ट्रिय निकुञ्जले हात्ती थप्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार थप दुईवटा हात्ती ल्याउन लेखापढी भइसकेको छ । दुईवटा हात्ती थपिएपछि निकुञ्जमा हात्तीको सङ्ख्या छ पुग्नेछ । बाघको बासस्थान रहेको निकुञ्जलाई पर्यटकीयस्थलका रूपमा विकास गर्दै लगिएको र हात्ती सफारी शुरु भएकाले हात्ती थप्न लागिएको हो । प्रमुख संरक्षण अधिकृत भट्टराईले प्रचारप्रसारको कमीले ओझेलमा परेको निकुञ्जमा भ्रमण वर्षको शुरुआतमै विस्तारै चहलपहल बढेको जानकारी दिए ।

निकुञ्जले गाभरदेखि अगैयासम्मको ६५ किलोमिटरलाई जङ्गल सफारीको ‘रुट’ बनाएको छ । यो पार गर्न साढे तीन घण्टा लाग्छ । ‘गाभरबाट प्रवेश गरेका पर्यटकहरुले जङ्गली जनावर, चराचुरुङ्गी हेर्दै साढे तीन घण्टा बिताएर अगैया निस्किने रुट बनाएका छौँ,’ प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘एकपटक आएको पर्यटक फेरि आउन मन लाग्ने घुमाइ हुन्छ ।’ आन्तरिक पर्यटकको रोजाइमा निकुञ्ज परिसकेको छैन । मुख्यमन्त्रीले गएर जङ्गल सफारीको उद्घाटन गरेपछि प्रचारप्रसार भएको छ ।

निकुञ्जमा नेपालीलाई रु १०० प्रवेश शुल्क लिएर रु ५०० मा दुई घण्टाभन्दा बढी हात्ती सफारी गराउने तालिका छ । सार्कका पर्यटकलाई रु ७५० र त्योभन्दा बाहिरकालाई रु एक हजार ५०० प्रवेश शुल्क कायम गरिएको छ । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले निकुञ्जमा हात्ती सफारी गरेर भ्रमण वर्षको शुरुआत गरेका थिए । प्रदेश सरकारले पर्यटन गन्तव्यका रूपमा बाँके निकुञ्जलाई पनि अघि सारेको छ । तर सङ्घ र प्रदेशबाट अहिलेसम्म कुनै कार्यक्रम आएको छैन । सरकारले बाँके आउने पर्यटकलाई घुमाउने ठाउँ यही निकुञ्ज र बागेश्वरी मन्दिरलाई अघि सारिएको छ ।

नेपाल भ्रमण वर्षमा बाँके निकुञ्जलाई मुख्य गन्तव्य मानिएको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चारजना पर्यटक आएकामा आर्थिक वर्ष २०७५र७६ मा १६० पर्यटक आएको निकुञ्जको तथ्याङ्कले जनाएको छ । तीमध्ये १४८ आन्तरिक पर्यटक, ११ सार्क मुलुकका र एकजना विदेशी पर्यटक रहेको निकुञ्जले जनाएको छ । निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश विन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरणसमेत मिलाइएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

‘बाँके निकुञ्ज पर्यटक ‘ट्रान्जिट’ हुँदैछ,’ भट्टराईले भने, ‘कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।’ मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालक कृष्ण चौधरीले बताए । आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे (घरबास) र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ ।

निकुञ्ज वरिपरि तीनवटा निजी थारू होमस्टे र १७ वटा घरमा सामुदायिक होमस्टे सञ्चालित छन् । बाघको आहारा प्रजातिका बँदेल, मृग, जरायोको सङ्ख्या पर्याप्त रहेको निकुञ्जको दावी छ । बाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको निकुञ्जमा ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी रहेको निकुञ्जले जनाएको छ । नेपालगञ्ज र कोहलपुरमा ठूलाठूला होटलहरु सञ्चालनमा रहेकाले यहाँ आउने पर्यटकलाई दुई÷चार दिन घुमाउन बाँके निकुञ्ज उत्तम रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed