Breaking News.... EverestOnlineKhabar
June 4, 2026

स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गरिन्छ : महानगर प्रमुख शाक्य

Loading

२०७६ पुस १६, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गर्ने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आजबाट शुरु भएको सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सवको शुभारम्भ गर्दै प्रमुख शाक्यले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरे । ‘विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र स्वयम्भूको दूरी करिब दुई दशमलव दुई किलोमिटर मात्रै छ’, उनले भने, ‘यी दुई सम्पदालाई जोड्ने गरी हामीले हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि गुरुयोजना तयार पारिसकेका छौँ ।’ यसलाई मूर्तरुप दिने कार्य अघि बढिसकेको पनि शाक्यले थपे ।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आजबाट नेपाल भ्रमण वर्ष २०२० शुरु भएको भन्दै कामपाले यसलाई वर्षभरि नै मनाउने र नेपाल घुम्न आएका पर्यटकको बसाई लम्ब्याउन नयाँनयाँ योजना ल्याउने पनि बताएका छन् । नेपाल घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने, उनीहरुलाई मुस्कानसहितको सेवा प्रदान गर्ने, नेपाल चिनाउने केही उपहार दिएर पठाउनेजस्ता योजना पनि शुरु गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । सङ्घीय सांसद जीवनराम श्रेष्ठले पनि मूर्त–अमूर्त सम्पदा संरक्षणका लागि कामपाले सकारात्मक पहल गरिरहेको धारणा राखे । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष २०२० लाई अब एक वर्ष मात्र होइन, कम्तीमा आठ–दश वर्षसम्म अभियानकै रुपमा अघि बढाउनुपर्ने धारणा राखे । महोत्सव पुस २२ गतेसम्म चल्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed