![]()
२०७६ पुस १४, तनहुँ । आइतबार साँझदेखि शुक्लागण्डकी नगरपालिका ३ रातमाटाका हराएका एक बालक वीभत्स अवस्थामा मृत भेटिएका छन् । दुई वर्षीय बालक रविन नेपालीको शरीर क्षतविक्षत र टाउको छुट्टिएको अवस्थामा फेला परेको छ । बालकलाई घरदेखि करिब २ किलोमिटर माथि ढाङढुङ्ग ठुलोपाखा श्यामपोखरी सामुदायिक वनमा विभत्स अवस्थामा फेला पारिएको स्थानीयले जनाएका छन् । शवको प्रकृति हेर्दा बाघले खाएको हुन सक्ने अनुमान गर्न सकिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
स्थानीयवासी र इलाका प्रहरी कार्यालय बेलचौतराका टोलीले सोमबार बिहानैदेखि खोजी थालेका थिए । बालकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आइतबार साँझ करिब ६ बजेको समयमा पिँढीमा बसेर खाना खाइरहेका बालक घरबाटै हराएको आमा लक्ष्मी नेपालीले बताइन् । आमा लक्ष्मीका अनुसार घरभित्र खाना बनाएर बाहिर निस्किँदा खाना खाइरहेको छोरा हराएका थिए । यस अघि तनहुँकै भानु नगरपालिकाका छ जना बालबालिका चितुवाको आक्रमणबाट ज्यान गुमाएका थिए भने चारजना घाइते भएका छन् ।


