![]()
२०७६ पुस १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । सोमबार भएको एक कार्यक्रममा बोल्दै गजुरेलले सीमा अतिक्रमणबारे आइतबार नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाएका हुन् ।
उनले भने,‘हिजोको घट्ना पूर्व अनुमानभन्दा बाहिरको घट्ना भएको बताए । गजुरेलले सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन सिंहदरबार जाँदै गर्दा प्रहरी ज्यादती गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन चाहेको, तर उहाँ पूर्णतयः बेड रेष्टमा भएको खबर उहाँको सचिवालयबाट आएपछि हामीले पनि रक्षामन्त्रीलाई नै ज्ञापनपत्र बुझाउने भनेर समय लिएरनै त्यसतर्फ गएको गजुरेलले बताए ।
उनले हिजो घटेको घट्ना प्रायोजित थियो भन्ने दाबी गरेका छन् । नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि आफूहरुले भारतको सो कदमको विरोध गरेको पनि उनले सुनाए । गजुरेलले भने, ‘भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेपछि अहिले नेपालमा पार्टीहरु, विभिन्न संघ, संस्था, बौद्धिक व्यक्तिहरु, ख्याँतिप्राप्त कलाकारहरुले पनि विरोध गरे । हामी पनि विरोधमा उत्रिएका थियौं । पछिल्लो समय यो शिथिल भएको थियो । हामीले फेरि यो विषयलाई उठायौं । सरकारले कतै यो विषयलाई दबाएर लैजान चाहेको थियो होला ? हामीलाई त हिजोको सरकारी कदमबाट यो आशंका पैदा भएको छ ।’


