![]()
२०७६ पुस ०९, काठमाडौँ– समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा)लाई सरकारमा गएर आत्मघाती काम नगर्न सुझाव दिएका छन् । मंगलबार मात्रै उपप्रधान एवं कानुन, न्याय तथा संघीय मामिलामन्त्रीबाट राजीनामा दिएका यादवले बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा राजपा सरकारमा गएर आत्मघाती काम गर्ला भन्ने आफूलाई नलागेको बताए ।
‘समाजवादी पार्टी सरकारमा गयो । संविधान संशोधनका लागि प्रयत्न र्गयो’, उनले भने, ‘त्यसमाथि प्रधानमन्त्रीले मेरो प्रस्ताव अस्वीकार गरेसँगै उहाँले संविधान संशोधन गर्न चाहनुहुन्न भन्ने प्रष्ट भइसक्यो । अब त्यही एजेण्डा लिएर राजपा सरकारमा जानु भनेको आत्मघाती कदम हो । त्यसमा मलाई विश्वास छैन ।’ यस्तै यादवले समाजवादी पार्टीले अब संविधान संशोधनका लागि संसद र जनसंघर्षको बाटो अपनाउने चेतावनी समेत दिएका छन् । यसैगरि पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले अहिलेको संसदीय शासन प्रणालीमै खोट रहेको भन्दै त्यसमा सुधार हुने पर्ने बताए ।
भट्टराईले भने, ‘संविधान संशोधन गरेर पहिचानमा आधारित प्रदेश र शासन प्रणालीमा सुधार हुनुपर्छ । त्यसको पक्षमा समाजवादी पार्टीले निरन्तर संघर्ष गर्छ ।’ समाजवादी पार्टीको तर्फबाट सरकारमा रहेका उपप्रधान एवं कानुन, न्याय तथा संघीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले मंगलबार पदबाट राजीनामा दिएका थिए । सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनका लागि विज्ञ टोली गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले यादवको उक्त प्रस्ताव ठाडै अस्वीकार गरिदिएपछि यादव र राईले मंलबार राजीनामा दिएका हुन् ।
पछिल्लो समय प्रधानमन्त्री ओली र यादवबीचको सम्बन्ध चिसिएको थियो। मंसिर पहिलो साता गरिएको मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले यादवलाई जानकारी नै नगराई अपमानजनक रुपमा स्वास्थ्य मन्त्रीबाट हटाएर कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि उनीहरुको सम्बन्धमा चिसोपना आएको थियो । समाजवादी पार्टी त्यतिबेलै सरकारबाट बाहिरने अनुमान गरिएको थियो। तर मन्त्रिमण्डल गठनका क्रममा भारत भ्रमणमा रहेका यादव नेपाल फर्केर कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । बुधबार समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर सरकारलाई दिएका समर्थन समेत फिर्ता लिएको छ।


