![]()
२०७६ पुस ९, काठमाडौं । मानसिकरुपमा स्वस्थ्य नभएसम्म शारीरिकरुपमा सक्षम नहुने भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको शारीरिक परीक्षणसँगै उचित मनोपरामर्श दिन आवश्यक भएको सरोकारवालाले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग र ‘कोशिश’ नामक संस्थाले संयुक्तरुपमा आयोजना गरेको ‘आप्रवासन र मानसिक स्वास्थ्य’ विषयको अन्तरक्रियामा सहभागी वक्ताले पारिवारिक वियोगसँगै गन्तव्य मुलुकमा आइपर्ने मानसिक तनाव व्यवस्थापनका लागि प्रस्थान पूर्व नै मानसिक स्वास्थ्य जाँच गरिनु आवश्यक भइसकेको बताए ।
परिवारको समृद्धिका लागि विदेशिएका युवाले आप्रवासनका विभिन्न चरणमा मानसिक समस्या भोग्दै आएका छन् । वैदेशिक रोजगारीमा जाँदाको उच्च लागत, गन्तव्य मुलुकको भाषा तथा कानुनको ज्ञान नहुनु, कार्यस्थलमा अतिरिक्त बोझ, दुर्व्यवहार, परिवारसँगको विछोडलगायत कारणबाट आप्रवासी कामदार मानसिक समस्यामा फस्दै आएका छन् ।
मानसिक समस्याबाट प्रताडित कतिपय युवाले आत्महत्यासमेत गर्दै आएका छन् । वैदेशिक रोजगारीमा आत्महत्या हुनुको प्रमुख कारण मानसिक समस्या रहेको पाइएको छ । पछिल्लो दश वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका ८९२ ले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डको तथ्यांक अनुसार आत्महत्या गर्नेको संख्या वार्षिकरुपमा वृद्धि हुँदै गएको छ ।
आर्थिक वर्ष २०६५–०६६ मा ९, आव २०६६–०६७ मा २४, आव २०६७–०६८ मा ६४, आव २०६८–०६९ मा ६६, आव २०६९–०७० मा ८१ र आव २०७०–०७१ मा ९३ जनाले विभिन्न गन्तव्य मुलुकमा आत्महत्या गरेका छन् । यस्तै आव २०७१–०७२ मा ११३, आव २०७२–०७३ मा १०९, आव २०७३–०७४ मा ९०, आव २०७४–०७५ मा १३२ र आव २०७५र०७६ मा १११ जनाले विदेशी भूमिमा आत्महत्या गरेको बोर्डले जनाएको छ ।
मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना ‘कल्चरल सक्ड’, परिवारसँगको विछोडका कारण एक्लोपन महसुस हुनु, मानसिक तनाव, कार्यस्थलको तनावका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको बताए । सिभिल अस्पतालका मनोचिकित्सक डा दिनेशकुमार लम्साल मानसिक समस्यासँगै शारीरिक समस्या पनि उत्तिकै महत्वपूर्ण भएको बताए ।
’वैदेशिक रोजगारीमा जाने कोही पनि व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण गर्ने प्रचलन रहेको छैन । फर्केका व्यक्तिमा पनि उत्तिकै समस्या छ’, उनले भने, ’शारीरिक परीक्षणमात्र गरिन्छ ।
मानसिक समस्या भएका व्यक्तिले कसरी काम गर्छन् । त्यसतर्फ बेलैमा सोच्नुपर्छ ।’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक प्रारम्भिक अध्ययनबाट १३ प्रतिशत कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारमा झन् यो समस्या ठूलो छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभागका प्रमुख सरोज ओझा वैदेशिक रोजगारीमा गएका व्यक्ति मात्र नभई परिवार पनि मानसिकरुपमा विक्षिप्त हुने गरेको बताए ।
वैदेशिक रोजगारीबाट मानसिक समस्या झेलेर उपचारको खोजीमा शिक्षण अस्पताल आएका व्यक्तिको अध्ययन गर्दा ३० प्रतिशतमा ‘डिप्रेसन’ को समस्या देखिएको उनको भनाइ छ । ’वैदेशिक रोजगारीमा जानुपूर्व मानसिक स्वास्थ्य जाँच गरिनु अत्यन्त आवश्यक छ । गन्तव्य मुलुकमा पनि मानसिक उपचारका लागि संवाद गर्नुपर्छ’, उनले भने, ’अब गन्तव्य मुलुक पनि जिम्मेवार बन्नुपर्छ । साधारण मानसिक समस्या भएरै विदेशबाट कामदारलाई फर्काइनुहुन्न ।’ कामदारको मानसिक समस्यालाई शारीरिक समस्यासरह हेर्न उनले सुझाव दिए । मनोविद् ठगुन्ना ‘साइको थेरापी’ र ‘काउन्सिलिङ’ बाट ९० प्रतिशत मानसिक रोगको समाधान हुने बताए ।
’यो धेरै खर्चिलो पनि छैन । गन्तव्य मुलुकका स्वास्थ्य संस्थासँग सम्पर्क राखिदिनुपर्छ’, उनले भने । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक राना वैदेशिक रोजगारीमा जाने क्रममा चर्को सेवा शुल्क तिर्नुपर्ने कारणबाटै कामदार मानसिक समस्यामा पर्ने गरेको बताए । ’अपारदर्शी भर्ना प्रक्रियाबाट कामदारमा मानसिक तनाव उत्पन्न हुन्छ । त्यस्तै गन्तव्य मुलुकमा न्यायमा पहुँच हुँदैन। सानो मानसिक समस्याले आत्महत्या जस्तो विकाराल रुप लिँदैछ।
यसमा सबै गम्भीर बन्नु पर्छु’, उनले भने । अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम पछिल्लो समय अभिमुखीकरण पाठ्यक्रममा परिमार्जन गरी मानसिक समस्या, तिनको समाधानका उपायबारे कामदारलाई अभिमुखीकरण दिने गरिएको बताए । पछिल्लो समय प्रस्थान पूर्व, प्रस्थान गर्दा, गन्तव्य मुलुकमा हुँदा र स्वदेश फर्कदा आइपर्ने मानसिक समस्या समाधान गर्ने गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिँदै आइएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे कामदारलाई मानसिक स्वास्थ्यका बारेमा जानकारी दिनुपर्ने बताए । कामदारको मनोपरामर्शमा सरकारसँग सहकार्य गर्न व्यवसायी तयार रहेको उनको भनाइ थियो । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक जान श्रेष्ठ मानसिक समस्यामा पर्ने नेपाली कामदारको संख्या अधिक रहेको पाइएको हुँदा अभिमुखीकरणको क्रममा तनाव व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए ।
’श्रव्यदृश्यको माध्यमबाट हामीले कामदारलाई तनाव व्यवस्थापनका बारेमा तालिम दिँदै आएका छौँ’, उनले भने, ’वैदेशिक रोजगारीमा गएका परिवारलाई लक्षित गरेर सुरक्षित आप्रवासन परियोजनामार्फत ३९ जिल्लामा मनोसामाजिक परामर्श दिँदै आएका छौँ । फेरि पनि आप्रवासी कामदारलाई मानसिक रुपमा स्वस्थ्य राख्न हाम्रो प्रयास जारी छ ।’ आयोगका सदस्य सुदिप पाठकले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मानसिक स्वास्थ्य गम्भीर विषय भएको र यो आयोगको चासोका विषयसमेत भएको बताए ।


