Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस ०८, लहान । एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–५ (तत्कालीन सिरहा कृष्णपुर गाविस–८) का जगदेव यादवका छोरा रामनाथ यादव र रामचन्द्र यादवको हत्या आरोपमा १० र उनकी ६ महिनाकी नातिनीको हत्या आरोपमा २० वर्ष गरी ३० वर्षको कैद सजाय पाएर फरार सिरहा नगरपालिका–२० लगडीगडियानी का ६८ वर्षीय हिरवा सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । विसं २०४४ पुस १३ गते अर्नमा गाउँपालिका–५ स्थित आफ्नै घरमा रहेका रामनाथ यादव र रामचन्द्र यादवलाई गोली हानी हत्या गरेको तथा सिरहा नगरपालिका–१९ स्थित गागन खोलामा ६ महिनाकी नातिनीको हत्या गरेको भन्दै मृतकका बुबा जगदेव यादवले जिल्ला अदालत सिरहामा सहनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए ।

सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत सिरहाले सो घटनामा दोषी ठहर गर्दै सहनीलाई दुवै दाजुभाइको हत्या अभियोगमा १० वर्ष र नबालिकाको हत्या अभियोगमा २० वर्ष गरी ३० वर्ष कैद सजायको फैसला भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले बताए । यस्तै सरकारी कागज कीर्ते मुद्दामा फरार सिरहाको अर्नमा गाउँपालिका–३ लालपुरका ४० वर्षीय राजदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अर्नमा सिरहाबाट खटिएको प्रहरी टोलीले आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा शर्मालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले गोलबजार नगरपालिका–१० धरमपुरस्थित बुद्ध चौकबाट प्रतिबिन्धित लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–१० का २३ वर्षीय सञ्जीव मुखियालाई पक्राउ गरेको छ । पक्राउ परेका मुखियाका साथबाट लागुऔषध ब्राउन सुगर १०० मिनी ग्राम बरामद भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed