![]()
कांग्रेस सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको नेकपाको सरकारले भ्रष्टाचार बढाएको आरोप लगाएका छन् । सरकारले संविधानविपरीत काम गरेको भन्दै उनले विरोध गरेका हुन् । ‘नेकपा सरकार बनेयता यति धेरै काण्ड (भ्रष्टाचारका घटना) भएका छन् कि विनाप्रतिस्पर्धा मेलम्ची र बुढीगण्डकी आयोजना दिइएको छ,’ देउवाले भने, ‘विनाप्रतिस्पर्धा यसरी दिँदा भ्रष्टाचार हुन्छ ।’ प्रजातन्त्रका आधारभूत पक्ष नै मानवअधिकार र प्रेस स्वतन्त्रता भएको भन्दै देउवाले वर्तमान सरकार यस्ता अधिकारलाई हडप्न उद्यत् भएको आरोप लगाए ।
‘निर्वाध बोल्न र लेख्न पाउने प्रजातन्त्रका आधारभूत मान्यता हुन् । मानवअधिकारकै आधारभूत अवस्थाका लागि हामी राणाकालदेखि ज्ञानेन्द्र शाहसँगसमेत लड्यौँ,’ देउवाले भने, ‘प्रजातन्त्रका मूल्य र मान्यताविपरीत लाग्न खोजे वर्तमान सरकारविरुद्ध संसद्मा मात्र होइन, सडकमै लड्न तयार छौँ ।’ नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित नेकपा सरकारका काण्डैकाण्ड पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले महरको पुस्तक देशभर बाँड्नुपर्ने बताए ।


