![]()
काठमाडौं । सरकारले नेपालमा रहेको उत्तर कोरियाको लगानी बन्द गर्न निर्देशन दिनुको कारण संयुक्त राष्ट्र संघबाट भएको ताकेता मुख्य भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
‘संयुक्त राष्ट्र संघको रिजोलुसनअनुसार नेपालमा उत्तर कोरियाली गतिविधिका बारेमा बेला बेलामा अपडेट गराउनुपर्ने हुन्छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको मामिलामा २२ डिसेम्बर २०१७ का दिन २३९७ नम्बरको रिजोलुसन पास गरेको थियो ।
अहिले संयुक्त राष्ट्रसंघको ७४ औं महासभा मंगलबारबाट शुरु भएको अवस्थामा नेपालले सो मामिलालाई सम्बोधन गरेको बुझिएको छ । उत्तर कोरियाले हवासङ्ग– १५ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेपछि यो रिजोलुसनको प्रसंग आएको हो । २८ नोभेम्बर २०१७ का दिन कोरियाले सो मिसाइल प्रक्षेपण गरेको थियो । त्यो रिसोलुसनले राष्ट्रसंघका सदस्य राष्ट्रमा उत्तर कोरियाका आर्थिक गतिविधिमा रोक लगाएको छ ।
त्यसमा कोरियालाई व्यापार र आयातमा कडाइ गरिनुका साथै उत्तर कोरियाका जनतालाई बाहिर काम गर्नेसमेत रोक लगाएको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयले सो नाकाबन्दीलाई युद्धका रुपमा घोषणा गरेको थियो ।
त्यसमा उत्तर कोरियाको पेट्रोलियम आयातमा कटौति गर्नुका साथै खाद्यान्न, मेशिनरी, काठ, ढुंगालगायतका सामानको व्यापारमा पनि रोक लगाएको थियो । उक्त रिजोलुसन १ जनवरी २०१८ बाट लागु भएको हो । २४ महिनाभित्रमा सदस्य राष्ट्रहरुले सो रिजोलुसनअनुसार काम गर्नुपर्ने जनाइएको थियो ।
नेपाल सम्बन्ध
नेपालमा उत्तर कोरियाको दूतावास १५ मे १९७४ मा खुलेको हो । नेपालको तर्फबाट भने बेइजिङ्गस्थित दूतावासले उत्तर कोरिया मामिला हेर्ने गरेको छ । यसअघि पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य र कीर्तिनिधि विष्टले उत्तर कोरिया भ्रमण गरेका थिए । त्यस्तै पछिल्लो समयमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि उत्तर कोरियाको भ्रमण गरेका थिए ।
यसैगरी तत्कालीन सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले सन् २००८ मा उत्तर कोरिया भ्रमण गरेका थिए भने पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले उत्तर कोरियाका विदेशमन्त्री सुई योङ्गसँग संयुक्त राष्ट्र संघको महासभाका क्रममा न्यूयोर्कमा भेटघाट गरेका थिए ।
दुई देशबीच २००१ मा सयुक्त परामर्श संयन्त्र बनेको छ । सन् २००२ मा सांसदहरुको पनि एउटा समिति रहेको छ । दुई देशबीच डिसेम्बर १९७० मा व्यापार सम्बन्धी समझदारी पनि भएको थियो ।
यसैगरी काठमाडौं र प्योङ्गयाङ्गबीच भगिनी सम्बन्ध सन् २००१ देखि रहेको छ । त्यस्तै भक्तपुर र दक्षिण प्योङ्गयाङ्गबीच पनि १९ जुलाई २०१४बाट भगिनी सम्बन्ध रहेको छ ।
अहिले बन्द गर्न लागिएका कोरियन लगानी
अहिले उत्तर कोरियाका व्यक्तिले नी कोरयो अस्पताल, तनहुँ र हिमाल चिल्बो टेक्निकल सोलुसन ललितपुर जिल्लामा सञ्चालन गरिरहेको पाइएको छ । त्यसैगरी अन्य विजनेशमा होटेल रे मिन एण्ड रेस्टुरेन्ट, प्योङ्गयाङ्ग अकुग्यान नेपाल, प्योङ्गयाङ्ग एरिराङ्ग रेस्टुरेन्ट, योङ्ग बोङ्ग चन्द आइटी कम्पनी, बोटोन्गाङ्ग रेस्टुरेन्ट एण्ड बार, हिमालयन सोजे रेस्टुरेन्ट र मिनास रेस्टुरेन्ट एण्ड बार काठमाडौंलगायतका रहेका छन् ।
गएको जुनमा अमेरिकाले पनि नेपालमा कोरियन गतिविधि बढेको विषयमा चासो देखाएको थियो । अब ती कम्पनी चाँडै बन्द गर्ने विषयमा उत्तर कोरियाली दूतावासका अधिकारीहरु पनि सहमत भएको सरकारको उच्च स्रोतले जनाएको छ ।


