Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने संघीय नारा फोस्रो: कुशकुमार ढकाल

Loading

आफ्नो क्षेत्रमा सिंहदरबार परेर के गर्नु ? काठमाडौं महानगरपालिकाको २९ नम्बर वडा कार्यालयले त्यहाँभित्र हात पसाउन पाउँदैन ।संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार वडा कार्यालयको सिफारिसमा मात्र नक्सापास हुन्छ । पानी, बिजुली र ढल निकासको सेवा मिल्छ । वडाले घरबहाल कर र भूमि कर उठाउँछ    । सिंहदरबारका हकमा यी कुरा लागू हुँदैनन् । ‘सिंहदरबारभित्र हामीले चियाएर हेर्नसमेत पाउँदैनौं,’ वडाध्यक्ष कुशकुमार ढकालको गुनासो छ, ‘यहींको वडाध्यक्षले सिंहदरबारको अधिकार अनुभूत गर्न पाउँदैन भने अरूको हालत के होला ?’ सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने संघीय नारा फोस्रो भएको उनको टिप्पणी छ । ‘मन्त्रालय, सचिवालय, संसदीय दल, सरकारी सञ्चारमाध्यम र सुरक्षा निकाय भएको देशको सर्वोच्च प्रशासनिक निकायभित्र वडाको पहुँच नहुनु विरोधाभासपूर्ण हो,’ उनले भने ।

सिंहदरबारभित्रका निकायले पानी, बिजुली जडान, निर्माण नक्सासम्बन्धी सिफारिस वडासँग लिँदैनन् । भूमि उपयोगबापत मालपोत कर तिर्दैनन् । ‘कुनै पनि कामका लागि सिंहदरबारले वडालाई पुच्छदैन,’ ढकालले भने, ‘सिंहदरबारभित्रका कुनै पनि निकायले वडालाई कुनै प्रकारको कर तिर्दैन । वडाले सर्वसाधारणबाट उठाएको वाषिर्क १० करोड करको हिस्सा भने सिंहदरबारभित्रकै सरकारले लान्छ ।’

वडाभित्र नौ हजार मतदाता छन् । उनीहरू करको दायरामा आउँदा सिंहदरबारलाई ल्याउन नसकिएकामा ढकाल अचम्म मान्छन् । सिंहदरबारको वडाध्यक्ष हुँदा गर्व लागे पनि सिंहदरबारले गरेको व्यवहारबाट भने हेपिएको अनुभूति भएको उनले बताए । उनले सिंहदरबारले गर्ने कामको अधिकार गाउँगाउँ पुग्यो भन्नु ‘भ्रमको खेती’ मात्र भएको सुनाए ।

सिंहदरबारभित्रका पुराना भवनको जानकारी वडाको रेकर्डमा हुनुपर्छ । नयाँको नक्सापास भए/नभएको अवस्थाबारे वडालाई जानकारी चाहिन्छ । ‘वडाले पाएको अधिकार सिंहदरबारले खिचेपछि सिंहदरबारको अधिकार गाउँगाउँ पुग्यो कसरी भन्ने ?’ ढकालले भने । संविधानले स्थानीय तहलाई दिएको अधिकार सिंहदरबारले क्रमिक रूपमा खिचेर आफूसँग लिइरहेकोउनको दाबी छ ।

सिंहदरबारको छिमेकमा झगडा परे पनि वडा गुहारिन्छ । ‘सिंहदरबार भने वडाको कुनै पनि विधि र प्रक्रियामा छिर्न चाहँदैन,’ उनले भने । सिंहदरबारलाई कानुनअनुसार वडाको मातहतमा ल्याउन आफू लडिरहने उनले बताए ।

सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले सिंहदरबारभित्रका संरचनाबारे ‘संघीय सचिवालय पुनर्निर्माण आयोजना’ ले हेर्ने भएकाले तिनको नक्सापास गर्नेलगायतका सबै काम त्यहींबाट हुने जानकारी दिए । ‘मास्टर प्लानअनुसार संरचना अघि बढाइन्छ’, उनले भने, ‘सबै काम आयोजनामातहत हुने भएकाले वडा र महानगरमार्फत जानै पर्दैन ।’

वडाध्यक्ष ढकालले भने सिंहदरबार परिसर र वडाको जग्गा पनि भूमाफियाको तारोमा परेको बताए । ‘शिक्षा, स्वास्थ्य, खाद्यलगायत सबथोक माफियाबाट परिचालित छन्,’ उनले भने, ‘भूमाफियाको गिद्देदृष्टि आफ्नो वडामा पनि परेकाले त्यसतर्फ सचेत भएर अघि बढेका छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed