Breaking News.... EverestOnlineKhabar
May 12, 2026

१० हजार ठाउँमा निःशुल्क वाइफाई

Loading

काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले एक वर्षभित्र मुलुकभरका १० हजार सार्वजनिकस्थलमा निःशुल्क वाइफाई दिने भएको छ। सार्वजनिकस्थलमा सेवा दिने उद्देश्यले सुरु गरेको योजनालाई मुलुकभर विस्तार गर्न लागेको कम्पनीले जनाएको छ। वर्ष दिनभित्र मुलुकभरका सार्वजनिकस्थलमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवले बताए।

‘मुलुकभर भीडभाड हुने ठाउँमा निःशुल्क वाइफाई दिन यो योजना ल्याइएको हो,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘केही ठाउँमा सुरु गरिसकेका छौं। यसलाई व्यापक गर्न लागेका हौंं।’ निःशुल्क सेवा भीडभाड हुने चोक, मालपोत कार्यालय, पार्क लगायतमा दिइनेछ। कम्पनीले यसअघि पशुपति, बौद्घ, शंखपार्क, बालाजु बाइसधारा, स्वयम्भू, वसन्तपुर, एयरपोर्ट, पोखरा र वीरगन्ज महानगरपालिका कार्यालय लगायत ठाउँमा नियमित रुपमा सेवा दिइरहेको छ।

आगामी दिनमा अझ प्रभावकारी ढगंले नयाँ ठाउँमा यस्तो सेवा दिने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। उसले चार महिनाभित्र करिब १० वटा ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच पु¥याउने योजना पनि घोषणा गरेको छ। वल्र्डलिंकले काठमाडौं सहरको सुन्दरतालाई ध्यानमा राख्दै अस्तव्यस्त रहेका इन्टरनेटका तारको व्यवस्थापनमा पनि काम गर्ने बताएको छ। पहिलो चरणमा त्रिपुरेश्वरदेखि महाराजगन्जसम्म र दोस्रो चरणमा बालुवाटारदेखि माइतीघरसम्मका क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्ने योजना अघि सारेको छ। यसै योजनाअनुसार हालसम्म त्रिपुरेश्वरबाट पानीपोखरीसम्मको काम सम्पन्न भइसकेको जनाएको छ। अन्य ठाउँको तार पनि व्यवस्थित गर्ने काम भइरहेको उसले जनाकारी गराएको छ।

कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) प्रयोग गरेर प्रदेश नम्बर ६ का आठ जिल्लालाई दुई प्याकेजमा बाँडेर इन्टरनेट विस्तार गरिरहेको छ। प्याकेज ‘बी’अन्तर्गतका रोल्पा, रुकुम, जाजरकोट र कालीकोटका सार्वजनिक ठाउँमा इन्टरनेट पु¥याउने योजना सम्पन्न भइसकेको जनाएको छ। प्याकेज ‘ए’ अन्तर्गतका हुम्ला, जुम्ला, डोल्पा र मुगु जिल्लाको योजना ५२ प्रतिशत सम्पन्न भइसकेको छ।

कम्पनीका अनसार यस्तै योजना प्रदेश नं. ४ का लमजुङ, तनहुँ, पर्वत, कास्की र स्याङ्जामा पनि सञ्चालन हुनेछ। प्रोडक्टमा निरन्तर परिमार्जन र सुधार गर्दै हाल १२ सय ५० मा गो एप, सेफनेट एप, म्यानेज्ड वाइफाई र टाइम ब्याक जस्ता पूर्ण सेवासहितको इन्टरनेटको नयाँ स्ट्यान्डर्ड नामक प्रोडक्ट उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ। इन्टरनेटको प्रयोगसम्बन्धी चेतना जगाउने उद्देश्यले ३९ विद्यालयका दुई हजार ३८ विद्यार्थीलाई इन्टरनेटको प्रयोगसम्बन्धी ज्ञान दिएको कम्पनीको दाबी छ। २०५२ साल स्थापना भएको वल्र्डलिंकले हालसम्म मुलुकका ७० जिल्लामा सेवा विस्तार गरिसकेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.