![]()
काठमाडौं – संघीय तहको निर्वाचनअघि नेपाली कांग्रेससँग एकता भएको लोकतान्त्रिक फोरमका कार्यकर्ताहरू पार्टीमा जिम्मेवारविहीन भएका छन्।
कांग्रेसमा समाहित भएको एक वर्षभन्दा लामो समय बितिसक्दा पनि एकता पछिको जिम्मेवारी बाँडफाँट नहुँदा फोरमका नेता तथा कार्यकर्ताहरू पार्टीमा जिम्मेवारी पाउनबाट वञ्चित भएका छन्।
लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका कार्यकर्ताहरूले भने पार्टीले जिम्मेवारी नदिएर आफूहरूको राजनीतिक भविष्य नै अन्यौलमा पारेको दुखेसो गरेका छन्।
‘व्यवस्थापनको सबै जिम्मा हामीले विजय दाई (विजय गच्छदार) लाई दिएका हौँ। तर अहिलेसम्म केही भएको छैन’, तत्कालीन फोरम लोकतान्त्रिकका महामन्त्री भारातेन्दु मल्लिकले भने, ‘सक्रिय राजनीति गर्ने हामीलाई अहिले पार्टीले प्यारालाइज बनाइसक्यो। सबैलाई अब के गर्ने भन्ने चिन्ता छ। अब विकल्प सोँच्ने बेला पनि आएको छ।’
दश वर्षसम्म मधेसको राजनीति स्वाद चाखेर आफ्नै मुल पार्टी फर्किएका विजयकुमार गच्छदारले पार्टीमा भूमिका पाए। तर उनीसँगै आएका कतिपय नेताहरू भने अहिले बिचल्लिमा परेका छन्। एकतामा भएको सहमतिअनुसार गच्छदारले पार्टीमा उपसभापति र संसदीय दलमा उपनेताको भूमिका पाएका छन्।
गत वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि कांग्रेससँग समाहित हुँदा गच्छदारले आफूलाई उपसभापति र आफ्नो पार्टीका १५ जना शीर्ष नेतालाई केन्द्रीय सदस्य बनाउन प्रस्तावअघि सारेका थिए। यस्तै, ६३ जिल्लामा संगठन भएको फोरमका २० हजार कार्यकर्तालाई क्रियाशील सदस्यता दिनुपर्ने, पाँच सयको संख्यामा महाधिवेशन प्रतिनिधि बनाइनुपर्ने, प्रत्येक विभागमा ३/३ जना सदस्य गच्छदारको पार्टीबाट बनाइनुपर्ने प्रस्ताव गरेका थिए।
यस्तै, तीन सय महासमिति सदस्य दिइनुपर्ने, प्रदेश समितिमा ७/७ जनाको प्रतिनिधित्व गराउनुपर्ने र जिल्ला, नगर, गाउँलगायत समितिमा उपसभापतिसहित १० जनाको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गच्छदारले गरेका थिए।
यो प्रस्तावमा सभापति शेरबहादुर देउवाले पनि सहमति जनाएका थिए।
गत कार्तिक २० गते बसेको पार्टी केन्द्रीय समितिको बैठकले फोरमलाई कांग्रेसमा समाहित गर्ने प्रक्रियालाई अन्तिम रूप दिन पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो।


