Breaking News.... EverestOnlineKhabar
May 12, 2026

नेपाल पानीजहाज कार्यालय स्थापनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा

Loading

काठमाडौँ — पानीजहाज चलाउन आवश्यक तयारीबारे आइतबार प्रधानमन्त्री कार्यालयमा सरोकारवाला निकायबीच छलफल भएको छ । पानीजहाज चलाउन आवश्यक तयारी र सहकार्य–संयोजनबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवहरू र सरोकारवाला मन्त्रालयका प्रतिनिधिबीच प्रस्तुति दिएको हो ।

छलफलमा प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिर ढुंगाना र दीपेन्द्रनाथ शर्मा, सरोकारवाला मन्त्रालयहरू भौतिक, पूर्वाधार तथा यातायात, सङ्घीय मामिला, अर्थ, ऊर्जा, जलश्रोत र सिँचाइ तथा परराष्ट्र मन्त्रालयका सहसचिवहरू सहभागी थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको योजना र अनुगमन महाशाखा प्रमुख तथा प्रवक्ता मधुकुमार मरासिनीले पानीजहाज चलाउन तत्काल गर्नुपर्ने काम र जिम्मेवारीबारे प्रस्तुति दिएका थिए। ‘यो पहिलो चरणको छलफल भएकाले विस्तृत छलफल हुन सकेन’।

पानीजहाज चलाउनका लागि सरकारले गत माघमा पानी जहाज कार्यालय खोल्ने निर्णय गरिसकेको छ। आइतबारको छलफलमा समेत सहभागी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले ‘नेपाल पानीजहाज कार्यालय’को सङ्गठन तथा व्यवस्थापन संरचना (ओएन्डएम) स्वीकृत भइसकेको बताए।

उक्त कार्यालयको प्रमुख सहसचिवस्तरका मेकानिकल इन्जिनियर रहने व्यवस्था छ भने कार्यालयमा १६ जना कर्मचारी रहनेछन्। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहने उक्त कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको भौतिक मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.