Breaking News.... EverestOnlineKhabar
June 19, 2026

दाउफिन्स फुटबल क्लब क्यामरुनलाई १-० ले पराजित गर्दै :संकटा सेमिफाइनलमा

Loading

धनगढी : दाउफिन्स फुटबल क्लब क्यामरुनलाई १-० ले पराजित गर्दै संकटा क्लब तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा भएको खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालको पासमा एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको १२औं मिनेटमा लक्ष्मण रुचालले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार गोलरक्षक गुर्लाउन्सले बचाएका थिए। पहिलो हाफको इन्जुरी समयमा दाउफिन्स गोल गर्नबाट चुकेका थियो।

दोस्रो हाफको ५०औं मिनेटमा दाउफिन्सले खेल बराबरी गर्ने मौका गुमायो। गोलरक्षक आफ्नो स्थानमा नहुँदा आर्मेलको क्रसमा जुनियरको हेडले पोस्टको दिशा लिन सकेन। ५३औं मिनेटमा टिनाको क्रसमा नियाले डी बक्सभित्रबाट गरेको हेड क्रसबार माथिबाट बाहिरिएको थियो। यस्तै खेल सकिन दुई मिनेट समय बाँकी रहँदा जुनियरको पासमा टिनाको प्रहार पनि बाहिरिएको थियो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवाल म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। संकटाले बिहीबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ।

पराजित टोलीका प्रशिक्षक आशिक थापामगरले लामो यात्रा तय गर्नु परेका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए।

संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले आफ्नो रणनीतिअनुसार खेलेकाले जित हासिल गरेको बताए। प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेताले १० लाख पाउनेछन्। यसैगरी विधागत रूपमा उत्कृष्ट हुनेले १५ हजार रुपैयाँ पाउनेछन्। बुधबार थ्रीस्टार क्लब र मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed