![]()
काठमाडौ । नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सवैधानिक परिषद्बाटै सविधानको उल्लंघन भएको छ । बहालवाला प्रधानन्यायाधीशले अवकाश पाउनु एक महिना अघि नै परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिसक्नुपर्नेमा परिषदको नै बैठक बस्न सकेको छैन । पटक–पटक आह्वान गरिएको बैठक बुधवार पनि स्थगित भएपछि संविधान उल्लंघनको चर्चा सुरु भएको हो ।
मंगलबार बेलुका परिषदका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । त्यसपछि बुधबार बिहानका लागि बोलाइएको बैठक पनि स्थगित भएको छ । प्रमुख विपक्षी दलका नेता देउवा अनुपस्थित भएकाले बुधबार बिहानको बैठक पनि बस्दै नबसी स्थगित भएको हो ।
परिषदको अर्को बैठक बिहीबार बिहान ९ बजेका लागि बोलाइएको छ । प्रधानन्यायाधिश रिक्त हुनु एक महिनाअघि नयाँको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधिश ओमप्रकाश मिश्र उमेर हदका कारण पुस १७ गते अवकाश हुनेछन् ।
परिषदको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिशद्वय चोलेन्द्रशमशेर राणा र दीपकराज जोशीको नाम न्याय परिषदले पठाएको छ । जोशी यसअघि पनि संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका थिए ।


