![]()
काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’का कारण नेपाल र भुटानले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताउनुभएको छ । भूगोलकै कारण यी दुई मुलुक, चीनतर्फ ढल्किन नसक्ने उहाँको दावी थियो । भारतको पुनेमा भएको विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास ‘माइलेक्स–१८’ को समापन समारोहपछि आयोजित पत्रकारसँगको अन्तक्र्रियामा नेपाल सहभागि नभएको सन्दर्भमा रावतले सो प्रतिक्रिया दिनुभएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
सैन्य अभ्यासमा सहभागी नहुने नेपालको निर्णयबाट भारत सरकार असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला रावतको सो भनाईलाई अर्थपूर्ण ठानिएको छ । उहाँले भन्नुभयो, ‘उनीहरु भारतबाट टाढा जान सक्दैन । नेपाल र भुटानजस्ता मुलुकहरु भूगोलका कारण स्वाभाविक रुपमा भारतर्फ झुकाव राख्नुपर्छ । भूगोलका कारण नै चीनतर्फ भन्दा भारततर्फ झुकाव राख्न अनुकूल छ । हाम्रो नेतृत्वले पनि छिमेकी पहिले र पूर्व हेर नीति लिएको छ । विमस्टेक पनि त्यही नीति अन्तर्गत पर्छ । त्यसैले हामीहरु छिमेकीसँगको सम्बन्ध सुदृढ पार्न प्रयासरत छौं । ठूलो मुलुक भएकाले हामीहरुले अग्रसरता देखायौं भने त्यसलाई अन्य मुलुकले अनुसरण गर्नेछन् ।’
तर सोही कार्यक्रममा भारतीय रक्षा राज्यमन्त्री सुभाष भाम्रेले नेपालमा सैन्य नेतृत्व भर्खरै परिवर्तन भएकाले सैन्य भाग नलिने निर्णयलाई अन्य कोणबाट हेर्न नहुने बताउनुभएको थियो । साताव्यापाी सो सैन्य अभ्यासमा नेपाल र थाइल्याण्ड औपचारिक रुपमा सहभागि भएनन् । दुवै मुलुकले पर्यवेक्षकका रुपमा मात्र सहभागिता जनाएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्न चौथो विमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यासमा नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो ।


