![]()
काठमाडौं। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ डिभिजन लिगका लागि खेलाडी दर्ताको समय छ दिन थप गरेको छ । करीब चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि एन्फाले आइतबारसम्म खेलाडी दर्ता गर्ने समय निर्धारण गरेको थियो ।
क्लबले खेलाडी दर्ताको समय अपुग भएको गुनासो गरेपछि छ दिन समय थप गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । एन्फाले पहिलो पटक अनलाइनबाट शुरु गरेको खेलाडी दर्ता प्रक्रिया आगामी असोज ५ गतेसम्म गर्न सकिनेछ ।
क्लबले ए डिभिजन लिगलाई ध्यानमा राखेर विदेशी खेलाडी धमाधम ल्याउनेक्रम जारी राखेको र खेलाडी दर्ताको समय थप्न माग गरेकाले दर्ता सयम थप गरिएको महासचिव तुलाधरको भनाइ छ । सबै क्लबले न्यूनतम १८ खेलाडी दर्ता गराइसकेको भए पनि थप खेलाडी दर्ताका लागि समय माग गरेका हुन् । एन्फाले हरेक क्लबले बढीमा ३५ खेलाडी र कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ । क्लबलाई चार जना विदेशी खेलाडी अनुबन्ध गराउन छुट दिइएको छ ।


