Breaking News.... EverestOnlineKhabar
June 27, 2026

युरोपेली संसद‌्‌मा हङ्गेरीका प्रधानमन्त्री र आलोचकबीच वादविवाद

Loading

बीबीसी । हङ्गेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानले एउटा अवज्ञाकारी भाषण गर्दै युरोपेली संसद्ले उनको देशको सम्मानमा ठेस पुर्‍याएको बताएका छन्।

हङ्गेरीले कानुन शासन र युरोपेली सङ्घका मूल्यमान्यताहरूको उल्लङ्घन गरेको भन्ने आरोपमाझ उक्त देशमाथि प्रतिबन्धहरू लगाउने विषयमा युरोपेली संसद्ले बहस गर्नुअघि उनले आफ्नो सरकारको धारणाको बचाउ गरेका थिए। वादविवादका क्रममा विपक्षीहरूले हङ्गेरीको निन्दा गर्दै उक्त देशले अल्पसङ्ख्यक र शरणार्थीहरूको अधिकारमाथि आक्रमण गरेको आरोप लगाएका थिए।

यो विवादका विषयमा युरोपेली संसद्को च्याम्बरले बुधवार मतदान गर्दैछ। युरोपेली सांसदहरूले आप्रवासनजस्ता मुद्दाहरूमा प्रधामन्त्री भिक्टोर ओर्बानको दक्षिणपन्थी सरकारका नीतिहरू युरोपेली सङ्घका लागि जोखिमपूर्ण छन् कि छैनन् भन्ने विषयमा बहस गरिरहेका छन्।

युरोपेली आयोगले पोल्यन्डविरुद्ध यस्तै कदम चालेको केही महिनापछि नै यो प्रक्रिया सुरु भएको छ। तर युरोपेली संसद्ले धारा ७ भनिने प्रावधानको प्रयोग गरी आफ्नो शक्ति परीक्षण गर्न लागेको भने यो पहिलो पटक हो।

हङ्गेरी र प्रधानमन्त्री ओर्बानको पार्टीका बारेमा प्रतिवेदन तयारी पारेकी युरोपेली संसदकी डच सदस्य जुडिथ सार्जेन्टिनीले संसदीय बहसको थालनी गरेकी थिइन्।

बैठकमा ढिलोगरी पुगेका हङ्गेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानले ईयू र उक्त प्रतिवेदनको कडा आलोचना गरेका थिए। उनले त्यसलाई शक्तिको दुरुपयोग भन्दै उक्त प्रतिवेदनमा ३७ वटा गम्भीर तथ्यगत गल्तीहरू रहेको बताए। युरोपेली सङ्घप्रति आलोचनात्मक धारणा राख्‍ने ओर्बान यो वर्षको आरम्भतिर पुन: निर्वाचित भएका थिए र उनले आप्रवासनविरोधी मुद्दामा आफ्नो प्रचारप्रसार अभियान केन्द्रित गरेका थिए। उनको पार्टीलाई देशमा संसद्‌मा दुईतिहाइ स्थान हासिल छ।

स्वदेशमा उनलाई पर्याप्त समर्थन प्राप्त छ तर युरोपेली संसद्‌मा रहेका उनका आलोचकहरू भन्छन् उनका नीतिहरू नै उनले युरोपेली संसदको मूल्यमान्यताहरूलाई सम्मान गर्दैनन् भन्ने प्रमाण हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.