![]()
पोखरा । महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब एपीएफ र न्यु डायमण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो सेमिफाइनल खेलमा आर्मीलाई पराजित गरेसँगै एपीएफले उपाधिका लागि न्यु डायमण्डसँगको भेट पक्का गरेको हो । एपीएफले आर्मीलाई पहिलो सेटमा २५–२२, दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–२१ ले पराजित गर्यो ।
पहिलो सेमिफाइनलमा न्यु डायमण्डले चितवन टाइगर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । प्रतिभा माली प्रेरित न्यु डायमण्डले विदेशी खेलाडी सम्मिलित चितवनमाथि पहिलो सेटमा २५–१८ को जित निकाल्यो । डायमण्ड दोस्रो सेटमा १७ –२२ ले पछि परेको अवस्थालाई सुधार्दै २५–२३ को संघर्षपूर्ण जित निकाल्न सफल भयो । दोस्रो सेटमा पुनरागमन गरेपनि जित निकाल्न नसकेको चितवन टाइगर्स अन्तिम सेटमा २५–१७ ले पराजित भयो । सेमिफाइनलमा पराजित आर्मी र चितवनबीच तेस्रो स्थानका लागि बुधबार प्रतिस्पर्धा हुनेछ ।
तेस्रो स्थानपछि उपाधिका लागि बुधबार दिउँसो न्यु डायमण्ड र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।


