![]()
काठमाडौ,भदौ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेकं) को चौथो शिखर सम्मेलनको आज दोस्रो दिन काठमाडौं घोषणा पत्र जारी गर्दै सकिँदैछ। सोल्टी होटलमा चलिरहेको सम्मेलनका लागि बिम्स्टेक सदस्य राष्ट्रहरु म्यानमार, भुटान, श्रीलंका, भारत, बंगलादेश तथा थाइल्यान्डका राष्ट्रप्रमुखहरु अहिले काठमाडौंमा छन्।सम्मेलनको दोस्रो तथा अन्तिम दिन शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीको पुलसाइडमा सबै राष्ट्रप्रमुखको सम्मानमा ‘रिट्रिट’ दिइएको छ । सोपश्चात् बिहान ११ बजेबाट बिम्स्टेकको दोस्रो सत्र सुरु हुनेछ। दोस्रो सत्रको सुरुवातमा ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीका बुँदाहरु जानकारी गराउनेछन्।
सम्मेलनमा बिम्स्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’को समझदारीपत्र (एमओयू) मा सातै देशका मन्त्रीले हस्ताक्षर गर्नेछन्।
यसैगरी रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सदस्य मुलुकबीच सम्पर्क र सम्बन्ध विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक विकासका मुख्य क्षेत्र सम्बन्धमा सम्मेलनमा छलफल हुने तथा काठमाडौं घोषणापत्र तय हुने मन्त्रालयले जनाएको छ। सोपश्चात् नेपालले संगठनको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्दै सम्मेलन सकिनेछ।
यसअघि अध्यक्ष राष्ट्रका हैसियतले बिहीबार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्प नभएको बताएका थिए। उद्घाटनपश्चात् सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस क्षेत्रका राष्ट्रहरू साझा रुपमा मौसम परिर्वतनको मुद्दाबाट गुज्रिएको बताए। प्रधानमन्त्री ओलीको सम्बोधनपछि सबै सदस्य राष्ट्रहरुका राष्ट्रप्रमुखहरुले सम्बोधन गरेका थिए। सो क्रममा सबै राष्ट्रप्रमुखहरुले यस क्षेत्रको समृद्धिका लागि शान्ति र स्थायित्वमा जोड दिएका थिए।


