![]()
काठमाडौ,भदौ ।
राष्ट्रिय मानव अधिकार आयोगले थाइल्यान्ड जान लागेका माओवादीका पूर्व बालसैनिक लेनिन विष्टलाई विमानस्थलबाटै फिर्ता गरिएको घटनामाथि छानबिन थालेको छ। आयोगले मंगलबार गृहसचिव प्रेम राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई पत्र लेखी सोधपुछका लागि बोलाएको छ। पत्रमा उनीहरू दुवैलाई आइतबार उपस्थित हुन निर्देशन दिइएको आयोगले जनाएको छ।
आयोगका एक जना सदस्यले भनेः‘ लेनिन विष्टको घटना मानव अधिकारका दृष्टिले गम्भीर खालको छ, त्यहि भएर हामीले उहाँहरूलाई उपस्थित हुन पत्र काटेका हौं।’ लेनिनले सोमबार आयोगमा उजुरी दिँदै स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने आफ्नो अधिकार हनन भएकाले कारबाही गरिपाऊँ भनेकाले सोधपुछका लागि बोलाउनुपरेको ती सदस्यले जानकारी दिए ।
अन्तर्राष्ट्रिय युवाहरुको कार्यक्रमका लागि थाइल्यान्डको बैंकक जान लागेका माओवादीका पूर्व बालसैनिक लेनिन बिष्टलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोक लगाई फर्काइदिएको थियो।


