![]()
कञ्चनपुर,भदौ ।
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको विषयमा अब सुरुदेखि नै अनुसन्धान हुने भएको छ । स्थानीयबासिन्दाले सोझो व्यक्तिलाई बलात्कारी भन्दै प्रहरीले फसाएको भन्दै आन्दोलन चर्काएपछि अनुसन्धान अब सुरुदेखि नै थाल्ने निष्कर्षमा प्रहरी पुगेको हो ।
कञ्चनपुरका एसपी कुबेरसिँह कडायतका अनुसार जुन घरबाट घटना सुरु भएको हो त्यहीँबाट नै अब अनुसन्धान सुरु हुन्छ । निर्मला गएको घरका दिदीबहिनी रोशनी र बबिता बमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालिसकेको छ ।
यसअघि गाउँलेले उनीहरुको घरमा गएकाले निर्मलाको हत्याका बारेमा उनीहरुलाई नै अनुसन्धानको घेरामा ल्याउन दबाब दिएको भए पनि प्रहरीले ढाकछोप गर्न लागेपछि आन्दोलन चर्किएको थियो । निर्मलाका आमाबुवा तथा स्थानीयले पहिलेदेखि नै सोही घरबाट अनुसन्धान थाल्नुपर्ने माग गरेका थिए ।
प्रहरीले दिलीपसिँह विष्टलाई पक्राउ गरेपछि आन्दोलन झनै चर्किएको थियो । आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा एक किशोरको ज्यान गएको थियो भने २० भन्दा बढी घाइतको अहिले उपचार जारी छ । शुक्रबार कञ्चनपुरमा भएको सर्वदलीय भेलामा पनि एसपी कडायतले अनुसन्धान सुरुदेखि नै थाल्ने बताएका हुन् ।
यसैबीच,सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।


