![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेशस्तरीय आयुर्वेद चिकित्सालयको भवनको शिलान्यास नगरी काठमाडौं फर्किएका छन्। झापा क्षेत्र नं. ५ का सांसदसमेत रहेका प्रधानमन्त्री ओली सवार सवारी साधन बाटो हिलो भएका कारण जान नसक्दा झापाको कमल गाउँपालिका- ७ स्थित प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय लखनपुरको भवन शिलान्यास नगरी फर्किएका हुन्।
५० शैय्याको चिकित्सालयको सुविधा सम्पन्न भवनको शिलान्यास गर्न प्रधानमन्त्री ओली आउन लागेपछि आयोजकले तामझामका साथ भव्य तयारी गरेका थिए। तर प्रधानमन्त्री ओली कार्यक्रम स्थल पुग्न नसक्दा भव्य तयारी खेर गयो।
चिकित्सालय पुग्ने करिब ७०० मिटर सडकखण्डमा दुई दिनअघि माटो र ग्राभेल बिछ्याइएको थियो। बुधबार बिहान पानी परेपछि उक्त सडकखण्ड हिलो भयो, जसका कारण प्रधानमन्त्रीको गाडी कार्यक्रमस्थल पुग्न नसकेपछि बाटैबाट फर्किएको आयोजक समितिले जनाएको छ।


