![]()
बीबीसी । एक तथ्यांकले चीनको अर्थतन्त्रमा कमजोर बनेको देखाएको छ । वर्षको पहिलो सात महिना बित्दा लगानी सबैभन्दा न्यून बिन्दुमा झर्नुको साथै सामानको बिक्रीमा पनि कमी आउनुले अर्थतन्त्र कमजोर बनेको संकेत गरेको जनाइएको छ ।
अहिले अर्थतन्त्रको सन्तुलन कायम गर्नुपर्ने चुनौति बेइजिङ सामु रहेको छ । यसका साथै वृद्धिका साधनलाई लगानी र निर्यातमा मात्र केन्द्रित गर्नुको साटो वैयक्तिक उपभोगमा पनि लगाउनुपर्ने अवस्था देखिएको छ । चीनको सामू ऋणको पहाडसँग जुध्नुपर्ने चुनौती पनि उत्तिकै छ ।
अमेरिकासँगको व्यापारिक विवादले समस्यामाथि समस्या थपेको छ । केही हप्तादेखि चीनियाँ मुद्रा युआन र बजार दुबै खस्किएका छन् । अमेरिकासँगको तनाबले निर्यातकर्तालाई राहत दिएपनि चिनीया उपभोक्ता मारमा परेको बताइएको छ ।
अमेरिकाले ३४ अर्ब डलरको चीनियाँ सामानमा गरेको करवृद्धि र त्यससँगै चीनले प्रतिशोधस्वरुप अमेरिकी सामानमाथि गरेको करवृद्धि जुलाईको सुरुदेखि प्रयोगमा आइसकेको छ । करवृद्धिका अरु थप घोषणा आगामी हप्ता पनि चालू रहने अनुमान गर्न थालिएको छ ।


