![]()
कावुल,साउन ।
अफगानिस्तानको गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने क्रममा तीन दिनदेखि भइरहेका युद्धमा परी करिब ३०० जनाको मृत्यु भएको अफगानिस्तानी रक्षा मन्त्रीले बताएका छन् । तालिवानी समूहले गजनीस्थित निर्वाचन कार्यालयमा आगलागी गरी काबुल–कान्दाहर राजमार्गलाई अवरुद्ध गर्ने प्रयासपछि भएका भीडन्तमा परी कम्तीमा १०० सुरक्षाकर्मीले पनि ज्यान गुमाएका रक्षामन्त्री तारिक शाह बरामीले काबुलमा गरेको पत्रकार सम्मेलनमा पुष्टी गरे ।
‘उक्त भिडन्तमा विद्रोहीतर्फका १९४ लडाकूको मृत्यु भएको छ भने मृतकमध्ये ९५ जना तालिवानी लडाकू रहेका छन्’ रक्षामन्त्री बरामीले भने । सरकारी फौज र विद्रोहीबीचको भीडन्तमा परी २० देखि ३० सर्वसाधारणको मृत्युभएको पनि उनले जानकारी दिए ।
मृतक विद्रोहीमध्ये १२ जना तालिवानी कमाण्डरस्तरका लडाकूरहेका रक्षामन्त्रीले जानकारी दिए । शुक्रबारबाट शुरु भएको सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको भीडन्तका क्रममा गजनी शहर र शहर वरपरका क्षेत्रको सञ्चार सञ्जाल प्राय अवरुद्ध बनेको छ । यस विषयमा स्थानीय अधिकारीहरूसँग गजनीको अवस्थाबारे गरिएको प्रश्नमा उनीहरूले कुनै प्रतिक्रिया दिन चाहेनन् । विगत तीनदेखि भएका भीडन्तमा भएको मानवीय तथा अन्य भौतिक क्षतिबारेका सूचना पुष्टी गर्न कठीन रहेको उनीहरूले बताए ।


