![]()
चितवन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टीले गम्भीर समीक्षा गरिरहेको बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा शनिबार प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार भेटघाटका क्रममा उनले आएका गुनासोलाई सम्बोधन गरिने आश्वासन दिए।
अध्यक्ष दाहालले सरकारको कामको बेलाबेलामा समीक्षा गर्दै जनआवाजलाई सम्बोधन गर्दै जानु पार्टी र सरकारको जिम्मेवारी भएको उल्लेख गरे ।
“चाहे करको विषयमा हो या मूल्यवृद्धि, जनताको चिन्ता हामीले सुनेका छौँ, त्यसलाई सम्बोधन गर्ने उपायको खोजी भइरहेको छ,” अध्यक्ष दाहालले भने, “सरकार गम्भीर छ, पार्टी नेतृत्व पनि जनता र सांसदको गुनासो एवं चिन्ताप्रति गम्भीररूपले समीक्षा गरिरहेका छौँ ।”
देश संघीयतामा गएको जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउनका लागि भएको जिकिर गर्दै उनले यसप्रति पार्टी चिन्तित रहेको बताए । करवृद्धिको विषयमा संघीयता समस्यामा पर्न गयो भन्ने कुरा आफूले कहीँ पनि नबोलेको जिकिर गर्दै अध्यक्ष दाहालले बाइसे–चौबिसे जस्तो बनाउन खोज्ने र अलोकप्रिय बनाउन खोज्ने कतैबाट प्रयास भइरहेको त छैन भनेर आफूले बोलेको स्पष्ट पारे ।


