![]()
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा दीपकप्रसाद जोशी अनुमोदन नभए न्याय परिषद र संवैधानिक निकायका पदाधिकारीमाथि कारवाही हुनुपर्ने बताएका छन ।
सरकारको बिरोधमा आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले जिन्दगी भरी त्यही सर्टिफिकेटले चल्ने, अहिले आएर नक्कली कसरी भयो भनी प्रति प्रश्न गरे ।
“संघीयता, लोकतन्त्र र गणतन्त्र कार्यान्वयनतिर यो सरकार अघि बढेको छैन,” उनले भने, “अधिकार प्रधानमन्त्रीमा केन्द्रित हुँदैछ ।” उनले प्रधानन्यायाधीशलाई संसदीय सुनुवाई समितिले अनुमोदन नगरे प्रधानमन्त्री, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गरिनुपर्ने बताए ।
“प्रधान न्यायाधीशको कुनै दोष नै छैन । उनको पदलाई अनावश्यक धरापमा पारिँदैछ,” पौडेलले भने, “सुनुवाई समितिले अहिलेसम्म किन निर्णय गर्न नसकेको ? यतिबेला आएर विद्यापिठको भएन भनेर हुन्छ ? जागिर खाँदादेखि अहिलेसम्म कसरी त्यो सर्टिफिकेट काम लाग्यो अब काम नलाग्ने भयो ? यसो गर्दा अन्याय हुँदैन ?”
उनले न्यायपरिषदले के आधारमा सिफारिस गरेकोे भन्दै प्रतिप्रश्न गर्दै अनुमोदन नभए प्रधानमन्त्री, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गर्नुपर्ने बताए । “न्यायपरिषदले सिफारिस गर्दासम्म कसरी ठिक थियो । यदि उल्ट्याउने हो भने केपी ओली, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गर्नुपर्छ । न्याय परिषद् र संवैधानिक परिषदका पदाधिकारी निस्कासित हुनुपर्छ । के हेरेर सिफारिस गरियो ?”
उनले सभामुख र उपसभामुख एउटै पार्टीका हुन नहुने संवैधानिक व्यवस्था भए पनि अहिले पदबाट राजीनामा दिएको भन्दै पन्छिएको बताए । उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको नारा लगाएको भए पनि अहिले सबैभन्दा बढी भ्रष्टाचार भएको बताए ।


