Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौ,साउन ।
चुनावी हार समीक्षा गर्न चैत ९ देखि वैशाख १६ गतेसम्म चलेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौसम्म महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । संघीय संरचनाअनुसार पार्टी विधान परिमार्जन गर्न महासमिति बैठक गर्ने तय गरे पनि कांग्रेस अझै तयारीमा जुटेको छैन। विधान परिमार्जन तथा आवश्यक नीति नियम कांग्रेसको महासमिति बैठकले गर्छ। कांग्रेसभित्र अहिले भदौमा महासमिति बैठक डाक्ने वा नडाक्ने बहसले विवादको रुप लिएको छ ।
महासमिति बैठक बस्नुअघि केही प्रक्रिया पुर्‍याउनुपर्ने तर्क सभापति निकट तथा संस्थापन पक्षका नेताहरूले गरेका छन्। महासमिति बैठकमा प्रस्तुत गरिने विधान मस्यौदा बनाउन समिति गठन गर्ने विषयमा अहिले कांग्रेसभित्र सहमति हुन सकेको छैन। सर्वसहमतिमा विधान मस्यौदा समिति बनाउने भनिए पनि सदस्यहरू क–कसलाई राख्ने भन्नेमा गुट चलाइरहेका नेताहरू प्रष्ट छैनन्। महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वमा ९ सदस्यीय विधान समिति बनाउने अनौपचारिक छलफल चलेको भए पनि निर्णय नभएको कांग्रेस निकट स्रोत बताउँछ।
समितिमा ५ जना सभापति देउवा पक्षबाट र ४ जना देउवा इत्तर (पौडेल र सिटौला) पक्षबाट सदस्य राख्ने चर्चा छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सदस्य पठाउन ढिलाइ गरेपछि विधान मस्यौदा समिति गठन गर्न नपाइएको पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। महासमिति बैठक कहिले बस्ने ? भन्नेबारे पनि टुंगो नभएको निधिले बताए।
पार्टीभित्र सबै पक्षसँग छलफल गरी सहमतिबाट विधान मस्यौदा समिति गठन गर्ने गृहकार्य गरिएकोले केही ढिलाइ भएको निधिले बताए। महासमिति बैठक डाक्ने र विधान मस्यौदा समिति गठन गर्ने वैशाख १६ को केन्द्रीय समितिको निर्णय तीन महिनासम्म पनि कार्यान्वयनमा आउन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.