Breaking News.... EverestOnlineKhabar
May 11, 2026

पत्रकारलाई ‘जनताका शत्रु’ नभन्न ट्रम्पलाई आग्रह

Loading

बीबीसी । द न्यूयोर्क टाइम्सका प्रकाशकले पत्रकारलाई ‘जनताका शत्रुका रूपमा’ चित्रण गर्ने कार्यलाई निरन्तरता नदिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आग्रह गरेका छन्। एजी सल्जबर्गरले पत्रकारलाई त्यसरी चित्रण गरिँदा सञ्चारमाध्यमविरुद्ध ‘हिंसा हुन सक्ने’ बताए।

बाहिर सार्वजनिक नगर्ने भनिएको बैठकबारे राष्ट्रपति ट्रम्पले ट्वीट गरेपछि सल्जबर्गरले कुराकानीका विवरण सार्वजनिक गरेका हुन्। आफ्नो शुरूवाती ट्वीटमा ट्रम्पले ‘एकदमै राम्रो’ कुराकानी भएको बताएका थिए। तर त्यसपछि उनले रिपोर्टिङको माध्यमबाट सञ्चारमाध्यमहरूले जनताको जीवनलाई जोखिममा पार्ने गरेको बताए।

आफ्नो पहिलो ट्वीटमा ट्रम्पले लेखे, “सञ्चारमाध्यमहरूबाट ठूलो मात्रामा झूटा समाचारहरू पस्किने गरिएको र त्यो कसरी शब्दावली बन्न पुग्यो भन्ने विषयमा मैले लामो कुराकानी गरेँ। ‘जनताका शत्रु।’ दुःखद!”

आफैँले त्यो शब्दावली पटक-पटक प्रयोग गरेको विषयमा चाहिँ उनले केही उल्लेख गरेनन्। ट्रम्पले छलफलमा भएका कुरा सार्वजनिक गरिदिएपछि द न्यूयोर्क टाइम्सले ‘त्यसको जवाफ दिने’ भन्दै विज्ञप्ति निकालेको हो। सञ्चारमाध्यम विरोधी राष्ट्रपतिका ‘निकै चिन्ताजनक अभिव्यक्तिहरूबारे’ चिन्ता व्यक्त गर्न ट्रम्पलाई भेट्न आफू तयार भएको सल्जबर्गले बताएका छन्।

‘झूटा समाचार’ भन्ने शब्दावली ‘असत्य र हानिकारक’ भएको कुरा आफूले ट्रम्पलाई भनेको उनले जनाए। तर पत्रकारलाई ‘जनताका शत्रु’का रूपमा चित्रण गरिएको कुराप्रति ‘आफू अझ बढी चिन्तित बनेको’ सल्जबर्गरले उल्लेख गरे। उनले भने, “मैले यो उत्तेजक भाषाले पत्रकारविरुद्धको धम्कीलाई बढावा दिन सघाउ पुर्‍याइरहेको र त्यसले हिंसातर्फ डोर्‍याउने चेतावनी दिएँ।”

केही सत्ताहरूले पत्रकारमाथि धरपकडका लागि ट्रम्पका अभिव्यक्तिलाई प्रयोग गरिरहेको देशमा यो आंशिक रूपमा सत्य भएको आफूले राष्ट्रपतिलाई भनेको सल्जबर्गरले बताए। सल्जबर्गरले भने, “मैले चेतावनी दिएँ कि यसले जीवनहरू जोखिममा पारिरहेको छ, हाम्रो देशका लोकतान्त्रिक आदर्शलाई नजरअन्दाज गरिरहेको छ र हाम्रो देशका सबैभन्दा ठूलोमध्येको एउटा निर्यात अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा क्षति पुर्‍याइरहेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.