![]()
काठमाडौ,साउन ।
भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय लिन आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ । समितिको बैठक आइतबार बिहान नै बस्ने भनिएता पनि प्रमाणपत्र लगायका विषयमा विवाद देखिएपछि आजको लागि सारिएको थियो । उद्यपी आइतबारको बैठक सारिदा दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर भएको कारण देखाइएको थियो ।
फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसला लगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै जोशीमाथि सांसदहरु असन्तुष्ट रहेका छन् ।
भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।
जोशी आइतवार दिनभर सर्वोच्च अदालतमा अनुपस्थित रहे ।
बालुवाटारस्थित सरकारी क्वार्टरबाटै आइतवारको दैनिक पेशी तोकेका जोशी अदालत भने गएनन् । प्रधानन्यायाधीशका लागि सिफारिस जोशी संसदीय सुनुवाइ विशेष समितिमा बिचाराधीन अवस्थामा रहेको सुनुवाइको निर्णय अन्यौलमा रहेपछि आइतवार दिनभर क्वार्टरमै बसेका हुन् ।


