Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

दुनै,साउन ।
हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामलभन्दा पनि महँगो भएपछि जनताले खाद्यान्नको जापानी चामल किन्न नमानेका हुन् ।
प्रतिकेजी रु ६५ मा बिक्री गर्न केन्द्रले मूल्य निर्धारण गरेपछि महँगो भन्दै जनताले किन्न नमानेको नेपाल खाद्यसंस्थान डोल्पाले शाखाले जानकारी दिएको छ । जिल्लाको दुनै शाखा, सर्मी डिपो र जुफाल डिपोमा आएको तीन हजार ५१५ क्विन्टल जापानी चामल बिक्री हुन सेकेको छैन । विसं ०७२–०७३ मा रु ५० प्रतिकेजीमा बिक्री भएको जापानी चामल यस वर्ष एकै पटक प्रतिकेजीमा रु १५ वृद्धि भई ६५ मा पुगेपछि महँगो भएको भन्दै जनताले किन्न नमाने पछि बिक्री नभएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसीले जानकारी दिए ।
जनताले जापानी चामल किन्न नमाने पछि मूल्य समायोजनका लागि जिल्ला समन्वय समितिले आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानमा पत्राचार गरेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बूढाले जानकारी दिए । उनले भनेः‘ सरकारले जनताका लागि दिएको अनुदानको चामल नै बजारको भन्दा महँगो भयो, जनताले किन्न सक्दैनन् ।’
शाखा प्रमुख जोसिका अनुसार संस्थानको चामल अलि महँगो छ तर बजारको चामलको भन्दा राम्रो गुणस्तर अनुदानमा दिने चामलमा छ । हाल डोल्पाको शाखा र डिपोबाट सोना मनसुली प्रतिकेजी रु ६०, मध्यम रु ६०, मकवानपुरे रु ५२, मोटा रु ५१, जिरा मसिनो रु ७०, गोरखनाथ रु ६५ र उसिना रु ३५ प्रतिकेजीमा नेपाल खाद्य संस्थानले जनतालाई बिक्री गर्दै आएको छ ।
सबै जनतासँग महँगो चामल किन्नको लागि पैसा नहुने भएकाले जति सक्दो सस्तो चामल रोज्नु परेको स्थानीय धनरुपे कामीले आफ्नो वास्तविकता सुनाए ।
डोल्पा जिल्लाको लागि आव ०७४–०७५ मा २४ हजार २०० क्विन्टल चामल ढुवानी हुनुपर्नेमा १६ हजार ७०९ क्विन्टल मात्र ढुवानी भएको छ । नेपालगञ्ज, दाङ, सुर्खेत र जुम्लाबाट तीन वटा ठेकेदारले डोल्पाको लागि ढुवानी गर्ने जिम्मा लिए पनि आव सकिदासमेत ढुवानी पूरा गर्न सकेका छैनन् ।
यातायातको समस्या सडक जोखिम र खच्चडबाट ढुुवानी गर्नुपर्ने बाध्यता रहेकाले ढिलाइ हुने गरेको इन्द्रदीप क्न्सट्रक्सन, सिद्धार्थ ढुवानी सेवा र ओमजयदुर्गे ढुवानी सेवाले जनाएको छ । हाल जिल्लामा ढुवानी भएको चामलमा एक हजार २६९ क्विन्टल चामल मात्र मौज्जाद रहेको र त्यसमध्ये लगभग एक हजार २०० क्विन्टल जापानी चामल नै रहेको नेपाल खाद्यसंस्थान शाखा कार्यालय डोल्पाले जनाएको छ ।
जापानी मात्र नभएर सरकारले अनुदानमा दिने सबै जातका चामलको मूल्य महँगो भएको कारण समायोजन हुनुपर्ने माग जनताको छ । जनताको लागि अनुदान भन्ने मात्र गरेको तर व्यापारीशैलीमा चामल जनतालाई बिक्री गरेको जनताको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.